जेनजी आन्दाेलनकाे आगजनीका कारण सर्वोच्चको मुद्दा फछ्र्योट प्रभावित, लक्ष्यभन्दा निकै कम प्रगति
काठमाडौँ, १९ साउन । सर्वोच्च अदालतमा गत वर्ष भएको जेनजी आगजनीका कारण मुद्दाका मिसिलहरूमा क्षति पुग्दा लक्ष्यअनुसार मुद्दा फछ्र्योट हुन कठिन भएको छ । आर्थिक वर्ष २०८२/८३ मा अदालतले आफ्नो वार्षिक लक्ष्यको तुलनामा निकै कम मुद्दा मात्र किनारा लगाउन सकेको हो ।
अदालतको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा कूल ३८ हजार ९ सय ३६ वटा मुद्दा विचाराधीन रहेका थिए । तीमध्ये अदालतले १९ हजार ६ सय ७९ मुद्दा फछ्र्योट गर्ने लक्ष्य राखेको थियो । तर, वर्षभरिमा ११ हजार ४ सय ६९ वटा मात्र मुद्दा फछ्र्योट हुन सके । यसरी हेर्दा २७ हजार ४ सय ६७ वटा मुद्दा अझै फछ्र्योट हुन नसकी बाँकी रहेका देखिन्छन् ।
अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा अदालतमा भएको आगजनीले मुद्दाका मिसिलहरूमा अकल्पनीय क्षति पुर्याएको थियो । “आगजनीका कारण लामो समयसम्म इजलास बस्न सकेन र धेरै मुद्दाका मिसिलहरू पत्ता लगाउन समेत कठिन भयो,” प्रवक्ता कोइरालाले भन्नुभयो, “त्यसैकारण लक्ष्यअनुसारको मुद्दा फछ्र्योट हुन नसकेको हो ।”
मिसिलमा पुगेको क्षतिका कारण कानुनी प्रक्रियामा प्राविधिक जटिलता उत्पन्न भएको र न्याय सम्पादनमा ढिलाइ भएको अदालतले जनाएको छ । हाल क्षतिग्रस्त कागजपत्रको व्यवस्थापन र हराएका विवरणहरू खोज्ने कार्य भइरहे पनि यसले समग्र कार्यसम्पादनमा ठुलो असर पारेको छ ।