ग्याँस वितरण सहज बनाउन महानगर प्रहरी सक्रिय : सन्तुलित वितरण र सुरक्षा मापदण्डमा विशेष निगरानी
काठमाडौँ, साउन १९ । बजारमा खाना पकाउने ग्याँस (एलपीजी) को आपूर्तिमा समस्या देखिएपछि काठमाडौँ महानगरपालिकाले वितरण प्रणालीलाई व्यवस्थित र सहज बनाउन महानगर प्रहरी बल परिचालन गरेको छ । उपभोक्ताहरूले लामो समयसम्म ग्याँस नपाएको, पहुँच हुनेले मात्रै पाएको र विशेष गरी विद्यार्थीहरू मारमा परेको गुनासो बढेपछि महानगरपालिकाले डिपोहरूमा पुगेर प्रत्यक्ष सहजीकरण सुरु गरेको हो ।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको निर्देशनमा महानगर प्रहरीले बजार अनुगमन र वितरण व्यवस्थापनको जिम्मेवारी सम्हालेको हो । उपभोक्ता र बिक्रेताबीच समन्वय गर्दै विद्यार्थीसहित सबै आम नागरिकको पहुँचमा सन्तुलित रूपमा ग्याँस पुर्याउने उद्देश्यले प्रहरी बललाई मैदानमा उतारिएको छ ।
सहजीकरण कार्यको नेतृत्व गर्दै महानगर प्रहरी बलका प्रमुख, वरिष्ठ नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले डिपोहरूमा उपलब्ध ग्याँसको सन्तुलित वितरण मिलाउनु आफूहरूको मुख्य प्राथमिकता रहेको बताउनुभयो । उहाँका अनुसार प्रहरीले वितरणको न्यायोचितता मात्र नभई सुरक्षा मापदण्डको समेत कडाइका साथ जाँच गर्नेछ । ‘हामी डिपोमा सिलिण्डरको म्याद, ग्याँसको तौल, फायर स्टीङ्ग्वीसरको उपलब्धता र भण्डारणको अवस्था हेरिरहेका छौँ ।’ जोशीले भन्नुभयो,’“प्रज्वलनशील पदार्थको जोखिमबारे सचेत गराउँदै उपभोक्तालाई सुरक्षित र सहज सेवा सुनिश्चित गर्न हामी प्रतिबद्ध छौँ ।’
आजै अनामनगर क्षेत्रका डिपोहरूमा गरिएको अनुगमनका क्रममा साना डिपोहरूमा ग्याँस मौज्दात रहे पनि ठूला डिपोहरूमा उपभोक्ताको अत्यधिक भिड देखिएको पाइएको छ । ठूला डिपोमा मात्र ग्याँस पाइने भ्रमका कारण बिहान ३ बजेदेखि नै उपभोक्ताहरू लाइनमा बस्ने गरेको र साना डिपोहरू भने ओझेलमा परेको देखिएको छ ।
यता नेपाल आयल निगमले भने ग्याँसको आपूर्तिमा कुनै कटौती नभएको र विगतकै परिमाणमा बजारमा ग्याँस पठाइएको दाबी गरेको छ । उपभोक्तामा बढेको मनोवैज्ञानिक त्रास र मागमा भएको वृद्धिका कारण केही असन्तुलन देखिएको निगमको ठम्याइ छ ।
महानगर प्रहरीले अब काठमाडौँका चारवटै क्षेत्रमा नियमित रूपमा डिपोहरूको अनुगमन गरी ग्याँस वितरणलाई पारदर्शी र पहुँचयोग्य बनाउने कार्यलाई निरन्तरता दिने जनाएको छ । यस कदमले ग्याँसको कालोबजारी रोकिनुका साथै वास्तविक अभाव झेल्दै आएका विद्यार्थी र सामान्य नागरिकलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।