प्रतिनिधिसभाको बैठक आज बस्दै, संसद्का विभिन्न पाँचवटा विषयगत समितिहरूको बैठक पनि बस्दै
काठमाडौँ, १९ साउन । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने आजको बैठकमा सरकारका तर्फबाट प्रतिवेदन पेस गर्ने र जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२)’ सभासमक्ष पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
बैठकको मुख्य आकर्षणका रूपमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गर्नुभएको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव रहनेछ । उक्त प्रस्तावमा ‘वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी उनीहरूको पुनःस्थापना, सुरक्षित आवास, शिक्षा, स्वास्थ्य र जीविकोपार्जनको सुनिश्चितता गर्न तथा यथाशीघ्र लालपूर्जा वितरण गर्न’ सरकारको ध्यानाकर्षण गराइएको छ । यस प्रस्तावको समर्थकमा सांसदहरू ऐनबहादुर महर, युवराज दुलाल र आरेन राई रहनुभएको छ ।
प्रतिनिधिसभाको बैठकसँगै आज संसद्का विभिन्न पाँचवटा विषयगत समितिहरूको बैठक पनि बस्दैछन् ।
अर्थ समिति: बिहान १०ः०० बजे बस्ने बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल हुनेछ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति: बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल गर्ने कार्यक्रम छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति: बिहान १०ः०० बजे बस्ने यस समितिमा ‘खाना पकाउने ग्यासको आपूर्ति र व्यवस्थापन’ बारे छलफल हुनेछ ।
राज्य व्यवस्था तथा सुशासन समिति: बिहान ११ः०० बजे बस्ने बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविक व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ उपर दफावार छलफल र कार्यविधि मस्यौदा उपसमितिको प्रतिवेदनमाथि विचार–विमर्श हुनेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति: बैठकमा समितिका पूर्वसभापति रामनारायण विडारीसँग सरकारी आश्वासनको कार्यान्वयनका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
आजको सदन र समितिका बैठकहरूमा विशेष गरी जनजीविकासँग जोडिएका सुकुमवासी समस्या र अत्यावश्यक वस्तुको आपूर्ति जस्ता विषयले प्राथमिकता पाउने देखिएको छ ।