गढवा गाउँपालिकाका पूर्वअध्यक्ष अहिरसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ, १९ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित पाँच जनाविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगले तत्कालीन अध्यक्ष अहिर, गाउँपालिकाका कर्मचारी र ठेकेदार कम्पनीका पदाधिकारीहरूले मिलेमतोमा नदीजन्य पदार्थको उत्खननमा अनियमितता गरी राजस्व हिनामिना गरेको ठहर गर्दै मुद्दा दायर गरेको हो ।
आयोगले आरोपपत्र दायर गरेका प्रतिवादीहरूमा गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी र तत्कालीन राजस्व शाखा प्रमुख शम्भू चौधरी रहेका छन् । यसैगरी, सगुन कन्स्ट्रक्सन एण्ड इञ्जिनियरिङ प्रालि रूपन्देही, उक्त कम्पनीका प्रबन्ध निर्देशक सहदेव खड्का र प्रतिनिधि विकास पुन (विरास पुन) लाई समेत विपक्षी बनाइएको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाको वडा नं. १ र २ का विभिन्न स्थानबाट ढुङ्गा, गिट्टी र बालुवा जस्ता नदीजन्य पदार्थ सङ्कलन तथा निकासीका लागि बोलपत्र आह्वान गरिएको थियो । बोलपत्र प्रक्रिया सकिएपछि ठेकेदारसँगको आपसी मोलमोलाई र मिलेमतोमा औपचारिक सम्झौता नै नगरी कार्यालयको आधिकारिक सहीछाप भएका नगदी रसिदहरू जारी गरिएको अनुसन्धानमा भेटिएको छ ।
यसरी सम्झौता बिना नै गैरकानुनी ढङ्गले रसिद काटेर ढुङ्गा–बालुवा निकासी गर्न दिई ठुलो परिमाणमा सरकारी राजस्व हिनामिना गरिएको अख्तियारको दाबी छ । आयोगले दोषीहरूमाथि भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाही र बिगो असुल उपर गर्न मागदाबी गर्दै आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।