जाजरकोट पहिरोमा सेनाको ‘रेस्क्यु अप्रेसन’: ३०० जनाको सकुशल उद्धार, ४ शव निकालियो
काठमाडौँ, ३१ साउन । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको भीषण पहिरोबाट प्रभावित ३०० जनाभन्दा बढी नागरिकलाई नेपाली सेनाले उद्धार गरेको छ। भवानीदल गणबाट खटिएको सेनाको विशेष टोलीले आइतबार उनीहरूको उद्धार गर्न सफल भएको हो।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनाले अन्य सुरक्षा निकाय र स्थानीय बासिन्दाको समेत सक्रिय सहकार्यमा उद्धार कार्यलाई तीव्रता दिएको थियो। पहिरोको उच्च जोखिममा रहेका ३०० भन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरी गाँसबासको व्यवस्था मिलाइएको छ।
सेनाको टोलीले पहिरोको भग्नावशेषमा पुरिएका ८ जना घाइतेलाई जीवितै उद्धार गरी प्राथमिक उपचारपछि थप उपचारका लागि पठाएको छ। यस्तै, पहिरोमा पुरिएर ज्यान गुमाएका ४ जनाको शव समेत निकालिएको निर्देशनालयले जनाएको छ।
विगत केही दिनदेखिको अविरल वर्षाका कारण रिसाङ क्षेत्रमा जमिन थिचिएर बस्तीमाथिबाट पहिरो खसेको थियो। सेनाको तत्कालको सक्रियताले गर्दा थप मानवीय क्षति हुन नपाएको स्थानीयले बताएका छन्।
