घरघरमा नागको चित्र टाँसेर आज ‘नाग पञ्चमी’ मनाइँदै: यस्तो छ धार्मिक महत्व

काठमाडौँ, १ भदौ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने ‘नाग पञ्चमी’ पर्व आज देशभर परम्पराअनुसार नागको पूजा अर्चना गरी मनाइँदै छ । आजको दिन घरका मूल ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले वर्षभरि घरमा नाग, सर्प र बिच्छी जस्ता जीवको भय नहुने र अग्नि, मेघ एवं चट्याङबाट समेत बच्न सकिने धार्मिक विश्वास रहिआएको छ ।

वैदिक सनातन परम्पराअनुसार आज अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजा गरिन्छ । ब्राह्मण पुरोहितद्वारा मन्त्रोचारण गरी घरको मूल ढोकामाथि नागको चित्र टाँस्ने गरिन्छ । आजको दिन नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प जस्ता घिस्रने जीवलाई मार्न नहुने धार्मिक मान्यता छ ।

नाग पञ्चमीका अवसरमा आज बिहानैदेखि काठमाडौँको नक्सालस्थित नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरी र देशभरका विभिन्न नागस्थान एवं कुण्डहरूमा भक्तजनको घुइँचो लागेको छ । भक्तजनले गाईको दूध, अक्षता, दुबो, खीर र रोटी जस्ता परिकार नागलाई अर्पण गर्ने गर्दछन् ।

भगवान् विष्णुको शय्या (शेषनाग) र शिवजीको गलाको हार (वासुकी) का रूपमा नागलाई हिन्दू धर्ममा विशेष शक्तिशाली र पवित्र जीव मानिन्छ । पौराणिक कथाअनुसार राजा जनमेजयले गरेको सर्प यज्ञ रोक्न आस्तिक ऋषिले गरेको प्रयासको सम्झनास्वरूप यो पर्व मनाउन थालिएको हो । ज्योतिष शास्त्रअनुसार राहु र केतुका कारण सिर्जना हुने ‘सर्प दोष’ वा ‘कालसर्प योग’को शान्तिका लागि पनि आजको दिन नाग पूजा गर्नु फलदायी मानिन्छ ।