नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा: ११ उपसमिति परिचालन, स्वास्थ्य र सुरक्षामा कडाइ

काठमाडौ, साउन ३१ । ललितपुर महानगरपालिका २४, धापाखेलमा रहेको ऐतिहासिक नागदहमा यस वर्षको नागपञ्चमी मेलाको तयारी पूरा भएको छ। श्रावण शुक्ल पञ्चमीका दिन लाग्ने यस प्रसिद्ध मेलाका लागि सुरक्षा, सरसफाइ र भक्तजनको सुविधालाई ध्यानमा राख्दै ११ वटा उपसमिति गठन गरिएको छ  ।

नागदह विकास तथा संरक्षण समितिका अध्यक्ष एवं वडाध्यक्ष दिनेशजङ्ग पाण्डेका अनुसार सोमबार बिहान ४ बजेदेखि नै भक्तजनहरूले दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ । ‘हामीले मेलालाई व्यवस्थित र मर्यादित बनाउन सुरक्षाकर्मी र स्वयंसेवकहरूको परिचालन गरिसकेका छौँ ।’ पाण्डेले भन्नुभयो ।

मेलामा आउने दर्शनार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै धापाखेल स्वास्थ्य चौकी, नेपाल रेडक्रस सोसाइटी र सुमेरु अस्पतालको प्राविधिक सहयोगमा आकस्मिक उपचार कक्ष स्थापना गरिएको छ।

परम्परा र संस्कृति
धार्मिक मान्यता अनुसार, सो दिन बिहान पुजारी शिव गिरीको निवासबाट नागको बहुमूल्य प्रतिमालाई बाजागाजासहित दहमा ल्याएर पूजा गरिनेछ। दिनभरको पूजापछि राति पुनः सो प्रतिमालाई पुजारीकै घरमा फर्काइने परम्परा छ।

पौराणिक पृष्ठभूमि
मञ्जुश्रीले काठमाडौँ उपत्यकाको पानी बाहिर पठाउँदा नागहरूको बासस्थानका लागि यो दह सुरक्षित गरिदिएको किंवदन्ती छ। २५ देखि ४१ फिटसम्म गहिरो यो दहलाई पछिल्लो समय पर्यटकीय क्षेत्रका रूपमा समेत विकास गरिँदै लगिएको छ। नागपञ्चमीका दिन यहाँ पूजा गर्नाले पारिवारिक सुख र स्वास्थ्य लाभ हुने जनविश्वास रहेको छ।