आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण, अब शल्यक्रियाका लागि पोखरा धाउनु नपर्ने

म्याग्दी, १ भदौ । म्याग्दीको सदरमुकाम बेनीमा दाताहरूको सहयोग र सामाजिक सक्रियतामा सुविधासम्पन्न आँखा उपचार केन्द्रको भवन निर्माण सुरु गरिएको छ। नेपाल नेत्रज्योति संघ म्याग्दीले बेनी नगरपालिका–८ कालीपुलमा आफ्नै भवन निर्माणको प्रक्रिया अघि बढाएको हो।

भवन निर्माणका लागि म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामका समाजसेवी मुक्ति रोका र उनकी पत्नी याममाया रोकाले करिब २ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको ७ आना १ पैसा ३ दाम जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ। जग्गा प्राप्तिसँगै संघले भवनको जग खन्ने र पूर्वाधार निर्माणको काम थालनी गरेको छ।

संघका अध्यक्ष अमर बानियाँका अनुसार कुल १ करोड ३ लाख रुपैयाँको अनुमानित लागतमा तीन तले भवन निर्माण गर्न लागिएको हो। “संस्थाका पदाधिकारी र सदस्यहरूबाट तत्काल १० लाख रुपैयाँ संकलन गरेर जग खन्ने र पर्खाल लगाउने काम सुरु गरेका छौँ,” बानियाँले भन्नुभयो, “बाँकी निर्माण सम्पन्न गर्न हामीले देश–विदेशमा रहेका दाता महानुभावहरूलाई सहयोगको अपिल गरेका छौँ।”

हाल बेनीमा भाडाको घरबाट सञ्चालित केन्द्रले म्याग्दीसहित पर्वत, मुस्ताङ र बागलुङका बासिन्दालाई सेवा दिँदै आएको छ। तर, आफ्नै व्यवस्थित भवन र शल्यक्रिया कक्ष नहुँदा जटिल समस्या भएका बिरामीहरू पोखरा जान बाध्य छन्।

भवन निर्माण सम्पन्न भएपछि मोतिविन्दु लगायतका शल्यक्रिया सेवा बेनीमै उपलब्ध हुने र यस क्षेत्रका हजारौँ नागरिकले सस्तो र सुलभ उपचार पाउने विश्वास लिइएको छ। “हाम्रो मुख्य उद्देश्य नै आँखाका बिरामीले आफ्नै जिल्लामा पूर्ण उपचार पाओस् र पोखरा धाउनुपर्ने बाध्यता अन्त्य होस् भन्ने हो,” अध्यक्ष बानियाँले थप्नुभयो।