कोरियाबाट फर्केका उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार: चन्द्र ढकाल

काठमाडौँ, १ भदौ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण कोरियामा श्रम र अनुभव सँगालेर फर्किएका नेपालीहरूको सीप र पुँजीलाई राष्ट्रिय विकासमा अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल–कोरिया उद्यमी व्यवसायी सङ्घद्वारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै ढकालले ‘रिटर्नी’ उद्यमीहरूको क्षमता सदुपयोग गर्न सके नेपालको आर्थिक रूपान्तरणमा ठुलो मद्दत पुग्ने धारणा राख्नुभयो ।

आईएमई ग्रुपका अध्यक्ष समेत रहनुभएका ढकालले ६० वर्षअघि गरिबीको चपेटामा रहेको कोरियाले कसरी औद्योगिक शक्तिमा फड्को मार्‍यो भन्ने कुरा नेपालका लागि पाठ हुन सक्ने बताउनुभयो । “कोरियाले अपनाएको अनुशासित कार्यसंस्कृति, प्रविधिको विकास र निर्यातमुखी उत्पादनको मोडल हामीले पनि पछ्याउन आवश्यक छ,” ढकालले भन्नुभयो, “हजारौँ नेपाली युवाले कोरियामा सिकेको अनुशासन र उत्पादनशीलता स्वदेशी उद्योगका लागि बहुमूल्य सम्पत्ति हो ।”

ढकालका अनुसार नेपालमा जलविद्युत्, कृषि प्रशोधन, पर्यटन र सूचना प्रविधिका क्षेत्रमा लगानीको प्रचुर सम्भावना छ । भारत र चीन जस्ता ठुला बजारसँगको भौगोलिक निकटताले नेपाललाई क्षेत्रीय उत्पादनको केन्द्र बन्ने अवसर दिएको उहाँको भनाइ थियो । लगानीमैत्री वातावरण र एकद्वार सेवाका लागि निजी क्षेत्रले सरकारसँग निरन्तर पैरवी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

साना पुँजीलाई एकीकृत गरी ठुला आयोजनामा लगानी गर्ने उद्देश्यले १० अर्ब रुपैयाँ पुँजी भएको ‘नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड’ स्थापना गरिएको ढकालले जानकारी दिनुभयो । “नयाँ व्यवसाय सुरु गर्न चाहने रिटर्नीहरूका लागि यो कम्पनी लगानी साझेदार बन्न सक्छ,” उहाँले भन्नुभयो, “थोरै पुँजी हुनेहरूले पनि नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडमार्फत आफ्नो बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सक्नुहुन्छ ।”

रिटर्नी युवाहरूले विदेशमा सिकेको सीप र पसिना बगाएर कमाएको पुँजीलाई संस्थागत गर्दै मुलुकको औद्योगिक चरित्र बदल्न राज्य र निजी क्षेत्रले हातमा हात मिलाएर अघि बढ्नुपर्नेमा उहाँको जोड थियो ।