ललितपुरमा अब चिकित्सकसहितको निःशुल्क एम्बुलेन्स सेवा, १५ मिनेटमै घटनास्थल पुग्ने

काठमाडौँ, १ भदौ । ललितपुर महानगरपालिकाले नेपालमै पहिलो पटक आकस्मिक उपचारका लागि चिकित्सकसहितको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । आकस्मिक अवस्थाका बिरामीलाई घटनास्थलदेखि अस्पतालसम्म पुर्‍याउँदा बाटोमै आवश्यक प्रारम्भिक उपचार उपलब्ध गराउने उद्देश्यले महानगरले यो सेवा सुरु गरेको हो ।

सोमबार आयोजित एक विशेष समारोहका बीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले यस नयाँ सेवाको विधिवत् शुभारम्भ गर्नुभयो । सेवाको उद्घाटन गर्दै मन्त्री मेहताले ललितपुर महानगरपालिकाले चिकित्सकसहितको एम्बुलेन्स सञ्चालन गरेर देशभरकै लागि उदाहरणीय काम गरेको बताउनुभयो । “आकस्मिक उपचारमा ‘गोल्डेन टाइम’को ठुलो महत्व हुन्छ,” उहाँले भन्नुभयो, “धेरैजसो बिरामीको अस्पताल पुग्नुअघि नै मृत्यु हुने वा अवस्था जटिल हुने गरेको छ । बाटोमै डाक्टरले उपचार सुरु गर्दा गम्भीर क्षति रोक्न सकिन्छ ।”

मन्त्री मेहताले संसारका थोरै मुलुकमा मात्र यस्तो अभ्यास रहेको उल्लेख गर्दै नेपालमा यसको सुरुवात हुनु गौरवको विषय भएको बताउनुभयो । उहाँले महानगरको यो पहलमा मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले फिलिपिन्सको माकाती सहरमा यस्तो सेवा प्रभावकारी रहेको देखेपछि ललितपुरमा पनि लागू गर्ने सोच बनाएको जानकारी दिनुभयो । उहाँका अनुसार महानगरको ९औँ नगरसभाले यो प्रस्ताव पारित गरी बजेटको व्यवस्था गरेको थियो । “हाम्रो मुख्य लक्ष्य फोन आएको १५ मिनेटभित्र घटनास्थल पुग्नु हो,” नगरप्रमुख महर्जनले भन्नुभयो, “एम्बुलेन्समा मेडिकल अफिसर (डाक्टर) उपलब्ध हुने भएकाले बिरामीले अस्पताल पुग्नुअघि नै जीवनरक्षक उपचार पाउनेछन् ।”

यो सेवा सञ्चालनका लागि ललितपुर महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच द्विपक्षीय सम्झौता भएको छ । सम्झौताअनुसार: एम्बुलेन्समा रहने चिकित्सक पाटन अस्पतालले उपलब्ध गराउनेछ । चिकित्सकको सेवा-सुविधा र एम्बुलेन्स सञ्चालनको सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्नेछ । एम्बुलेन्सले बिरामीलाई उनीहरूको इच्छाअनुसारकै अस्पतालसम्म पुर्‍याइदिनेछ ।