प्रधानमन्त्री बालेन शाहलाई सभामुखको रुलिङ: संसद्मा उपस्थित भएर जवाफ दिन निर्देशन
काठमाडौँ, १ भदौ । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधिसभामा उठेका गम्भीर प्रश्नहरूको जवाफ दिन रुलिङ गर्नुभएको छ । सोमबार बसेको बैठकको सुरुवातमै विपक्षी दलहरूले उभिएर विरोध जनाएपछि सभामुखले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित हुन निर्देशन दिनुभएको हो ।
सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली २०८३ का विभिन्न नियमहरू उल्लेख गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । “प्रतिनिधिसभा नियमावली २०८३ को नियम ५६ बमोजिम प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै भइरहेको विरोधप्रति मेरो ध्यानाकर्षण भएको छ,” सभामुखले रुलिङ गर्दै भन्नुभयो, “यसै सन्दर्भमा बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु ।”
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले केही समयअघि सीमा विवादका सम्बन्धमा दिएको एउटा अभिव्यक्तिको कडा विरोध गर्दै आएका छन् । प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने आशयको ‘विवादास्पद’ अभिव्यक्ति दिएको दाबी गर्दै विपक्षीले सो भनाइ सच्याउनुपर्ने र संसद्मा स्पष्टीकरण दिनुपर्ने माग राख्दै सदन अवरुद्ध गर्दै आएका थिए ।
विपक्षीको निरन्तरको दबाब र सदनको गतिरोध अन्त्य गर्न सभामुखले प्रधानमन्त्रीलाई प्रत्यक्ष उपस्थित भएर सांसदहरूका जिज्ञासाको समाधान गर्न आदेश दिनुभएको हो । सभामुखको यो रुलिङपछि अब प्रधानमन्त्री शाहले आगामी बैठकमा उपस्थित भएर आफ्नो धारणा राख्नुपर्ने कानुनी एवं नैतिक बाध्यता सिर्जना भएको छ ।