महाकालीमा जलस्तरले पार गर्यो खतराको सतह: शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी रोक
कञ्चनपुर, १ भदौ । महाकाली नदीमा पानीको बहाव बढेर खतराको तह पार गरेपछि वनबासास्थित शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। सोमबार बिहानदेखि नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै भारतीय पक्षले पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जीवन गुरुङका अनुसार सोमबार बिहान ९:०० बजेको मापनमा महाकाली नदीमा पानीको बहाव १ लाख १४ हजार क्युसेक पुगेको छ। शारदा ब्यारेजको संरचना पुरानो भएकाले पानीको बहाव १ लाख क्युसेक नाघ्ने बित्तिकै जोखिम कम गर्न चारपाङ्ग्रे र ठूला मालवाहक सवारी रोक्ने गरिएको छ।
सवारी साधन रोकिँदा नेपाल-भारत सीमा आवतजावत गर्ने यात्रुहरू प्रभावित भएका छन्। दुईपाङ्ग्रे सवारी र पैदलयात्रीलाई भने विशेष सावधानीका साथ आउन दिइएको प्रहरीले जनाएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिमका पहाडी जिल्लाहरू बैतडी, डडेल्धुराका साथै तराईका कञ्चनपुर, कैलाली र बर्दिया क्षेत्रमा अहिले अत्यधिक वर्षा भइरहेको छ। पहाडमा वर्षा जारी रहेकाले महाकाली नदीमा पानीको सतह अझै बढ्न सक्ने अनुमान गरिएको छ।
महाशाखाले महाकाली र कञ्चनपुरका अन्य साना नदीहरू (दोदा, चौधर) मा समेत बहाव उल्लेखनीय रूपमा बढ्ने चेतावनी दिएको छ। प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन अपील गरेको छ।