बाजुरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता : दुई घाइते

काठमाडौँ, साउन २९ । अविरल वर्षाका कारण बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका ९ ताम्सुमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् भने अन्य दुई जना घाइते भएका छन् ।

गए रातिदेखि जारी वर्षाका कारण स्थानीय ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार सो घटनामा परी दुई जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।

अविरल वर्षा नरोकिएका कारण घाइतेको तत्काल उद्धार गर्न र बेपत्ता व्यक्तिको खोजी कार्यमा समस्या भइरहेको त्रिवेणी नगरपालिका ९ का वडाध्यक्ष नन्दा थापाले जानकारी दिनुभयो । भौगोलिक विकटता र प्रतिकूल मौसमका बीच पनि उद्धारको प्रयास भइरहेको उहाँको भनाइ छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा १७ जनाको विशेष प्रहरी टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ प्रस्थान गरेको छ । टोलीले घटनास्थल पुगेलगत्तै स्थानीयको सहयोगमा बेपत्ताको खोजी तथा थप उद्धार कार्यलाई तीव्रता दिने प्रहरीले जनाएको छ ।