मोदीखोलामा भीषण बाढी: कास्की–पर्वत जोड्ने दुई पुल बगायो, मन्दिरको बीचमा ३ जना अलपत्र
कास्की, २९ साउन । अविरल वर्षासँगै मोदीखोलामा आएको भीषण बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको छ । बाढीले मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरको आधा भाग समेत बगाएपछि त्यहाँ तीन जना मानिसहरू अलपत्र परेका छन् ।
सशस्त्र प्रहरीका अनुसार गएराति करिब २:१५ बजे बाढीले अन्नपूर्ण गाउँपालिका ५ र ६ को सिमानामा पर्ने नयाँ पुल–बिरेठाटी सडक खण्ड नजिकका ती पुलहरू बगाएको हो । नदीको बीच टापुमा रहेको मन्दिरको संरचनामा बाढी पसेपछि आवतजावत गर्ने दुवैतर्फका (कास्की र पर्वत दुवैतर्फ जोड्ने) पुलहरू नदीले बगाएको छ ।
मन्दिरको आधा भाग बाढीले बगाए पनि बाँकी रहेको भागमा एक जना सन्त पुजारी र दुई जना भक्तजन फसेका छन् । चारैतिरबाट मोदीखोलाको बहाव तीव्र रहेकाले उनीहरू बाहिर निस्कन नसकी मन्दिरभित्रै अलपत्र परेको सशस्त्र प्रहरीले जनाएको छ ।
अलपत्र परेकाहरूको उद्धारका लागि सशस्त्र प्रहरी बलको २४ नम्बर कालिका गण, कास्कीबाट विशेष टोली घटनास्थल पुगेको छ । उद्धार कार्यका लागि ४ जना रोप रेस्क्यू विज्ञ र ३ जना गोताखोरसहितको टोलीले उद्धार कार्य सुरु गरिसकेको छ ।
नदीमा पानीको सतह उच्च रहेकाले उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको बताइएको छ । सुरक्षाकर्मीहरूले डोरी र अन्य उपकरणको सहायताले मन्दिरमा फसेकाहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रयास गरिरहेका छन् ।.