सारनाथको विश्व सम्पदा यात्रा र यसको ऐतिहासिक गरिमा

 

आजभन्दा करिब २६५० वर्षअघि नेपालको लुम्बिनीमा जन्मनुभएका भगवान् बुद्धले मानव जीवनको दुःख, त्यसको कारण र दुःखबाट मुक्तिको मार्गबारे खोज तथा कठोर साधना गर्दै बुद्धत्व प्राप्त गर्नुभयो। आफूले प्राप्त गरेको बोधिज्ञानलाई मानवकल्याणका लागि संसारभर बाँड्ने क्रममा उहाँ भारतको सारनाथ पुग्नुभयो। त्यहाँ उहाँले आफ्ना पाँच जना पूर्व सहचारी श्रमणहरूलाई पहिलोपटक ‘धर्मदेशना’ दिनुभयो। बौद्ध परम्परामा यस ऐतिहासिक घटनालाई ‘धर्मचक्र प्रवर्तन’ भनिन्छ। यही अवसरमा बुद्धले पहिलोपटक चार आर्य सत्य र आर्य अष्टाङ्गिक मार्गको व्याख्या गर्नुभएको थियो भने बुद्ध, धर्म र संघको ‘त्रिरत्न’ परम्परा सार्वजनिक रूपमा स्थापित भएको मानिन्छ।

यही ऐतिहासिक महत्त्वका कारण सारनाथ बौद्ध धर्मका चार प्रमुख पवित्र तीर्थस्थलमध्ये एकका रूपमा विश्वभर प्रख्यात छ। यसै सन्दर्भमा, गत २०८३ साल श्रावण ९ गतेका दिन  भारतको नयाँ दिल्लीमा सम्पन्न युनेस्कोको ४८औँ विश्व सम्पदा समितिको बैठकले सारनाथलाई “सारनाथको प्राचीन बौद्ध स्थल” का नाममा विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ। यससँगै सारनाथ भारतको ४५औँ विश्व सम्पदा स्थल बन्न सफल भएको छ। बुद्धको पहिलो धर्मदेशना भएको यस पवित्र स्थलले विश्व मानव सभ्यताको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक विकासमा अतुलनीय योगदान पुऱ्याएको छ।

भगवान् बुद्धले बोधिज्ञान प्राप्त गरिसकेपछि आफ्ना पूर्व सहचारी पञ्चवर्गीय भिक्षुहरूलाई खोज्दै सारनाथ आउनुभएको थियो। बुद्ध र ती पाँच श्रमणहरूको पहिलो भेट भएको स्थानमा अहिले ‘चौखंडी स्तूप’ अवस्थित छ। भेटघाट र कुशलमङ्गलपछि उहाँहरू केही पर रहेको हालको ‘धमेख स्तूप’ भएको ठाउँमा जानुभयो, जहाँ बुद्धले आफ्नो पहिलो धर्मदेशना दिनुभएको थियो। यसरी सारनाथ बौद्ध इतिहासको केन्द्रबिन्दु बन्न पुग्यो।

यति महत्त्वपूर्ण बौद्ध सम्पदा भए तापनि सारनाथले विभिन्न कालखण्डमा धार्मिक तथा राजनीतिक परिवर्तन, बाह्य आक्रमण र विनाशका अनेकौँ पीडा भोग्नुपरेको इतिहास छ। सारनाथको इतिहास सम्झनु केवल विगतको स्मरण मात्र होइन, बरु धार्मिक सम्पदाको संरक्षण, आपसी सम्मान, सहिष्णुता र शान्तिपूर्ण सहअस्तित्वको आवश्यकतालाई बुझ्नु पनि हो।

विनाश र पतनका ऐतिहासिक मतहरू

पुरातत्त्वविद् जियोभानी भेरार्डी र फेडेरिका बरबाका अनुसार १२औँ शताब्दीतिर सारनाथको बौद्ध संस्थागत संरचना कमजोर हुँदै गएको देखिन्छ। यसको विनाशका कारणबारे इतिहासकारहरूबीच विभिन्न मत छन्। केही विद्वान्‌ले मुस्लिम आक्रमणलाई प्रमुख कारण मानेका छन् भने केहीले ब्राह्मणीय धार्मिक समूहद्वारा बौद्ध संस्थामाथि भएको हस्तक्षेप र रूपान्तरणलाई पनि कारणका रूपमा प्रस्तुत गरेका छन्।

१२औँ शताब्दीको मध्यतिर नै सारनाथका बौद्धहरू विस्थापित भइसकेका र त्यस स्थानमा ठूलो शैव धार्मिक परिसर निर्माण गर्ने प्रयास भएको तर्क भेरार्डी र बरबाले गरेका छन्। यो प्रक्रिया मुस्लिम आक्रमण हुनुभन्दा अगावै सुरु भएको उनीहरूको दाबी छ। यद्यपि, उक्त प्रयास पूर्ण रूपमा सफल हुन सकेन।

तत्पश्चात् १२औँ शताब्दीको अन्त्यतिर मुहम्मद घोरीका सेनापति कुतुबुद्दीन ऐबकले वाराणसीमाथि आक्रमण गर्दा सारनाथ पनि विनाशबाट अछुतो रहन सकेन। यस क्रममा त्यहाँका महत्वपूर्ण बौद्ध विहार तथा धार्मिक संरचनाहरू ध्वस्त पारिएको अनुमान गरिन्छ। मुहम्मद घोरी अफगानिस्तानको घोर क्षेत्रबाट आएका शासक थिए, जसले भारतमा मुस्लिम शासनको आधारशिला राखेका थिए।

सारनाथको बौद्ध सम्पदाको पतनलाई एउटा मात्र घटनासँग जोडेर हेर्नु उपयुक्त हुँदैन। १२औँ शताब्दीसम्म पनि सारनाथ बौद्ध धार्मिक गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा रहेको प्रमाण कुमारदेवीको अभिलेख तथा धर्मचक्र–जिन विहारको निर्माणबाट प्राप्त हुन्छ। सन् ११९४ मा मुहम्मद घोरीको गहडवाल राज्यविरुद्धको अभियानअन्तर्गत कुतुबुद्दीन ऐबकले वाराणसी क्षेत्रमा गरेको सैन्य कारबाहीलाई सारनाथको विनाशसँग जोड्ने परम्परागत ऐतिहासिक मत पाइन्छ।

प्राचीन गहडवाल राज्य उत्तर भारतमा अवस्थित थियो। यसको प्रमुख केन्द्र वाराणसी (काशी) र कन्नौज (हालको उत्तर प्रदेश) थिए। गहडवाल वंशले करिब सन् १०८० देखि ११९४ सम्म यस क्षेत्रमा शासन गरेको थियो।

तथापि, आधुनिक  पुरातात्त्विक अध्ययनहरूले सारनाथको अन्तिम पतनलाई केवल उक्त आक्रमणबाट मात्र व्याख्या गर्न नसकिने र यसका पछाडि भएका धार्मिक–राजनीतिक परिवर्तन,  पुरातात्त्विक संरचनाको पुनःप्रयोग तथा लामो समयको उपेक्षालाई समेत विचार गर्नुपर्ने देखाएका छन्। १२औँ शताब्दीपछि सारनाथ परित्यक्त अवस्थामा रहँदा यहाँका इँटा तथा ढुङ्गाहरू अन्य निर्माण कार्यमा प्रयोग गरिएका थिए। सन् १७९४ मा धर्मराजिका स्तूपको ठूलो भाग भत्काइनु यस पछिल्लो चरणको महत्वपूर्ण उदाहरण हो। काशी नरेश राजा चेतसिंहका दीवान जगतसिंहले भवन निर्माणका लागि आवश्यक सामग्री निकाल्ने उद्देश्यले सन् १७९४ मा धर्मराजिका स्तूपको ठूलो भाग भत्काएका थिए।

धर्मराजिका स्तूपको ठूलो भाग भत्काइयो र आज त्यसको आधार मात्र मुख्य रूपमा बाँकी रहेको छ। यस स्तूपको अवशेष कक्षबाट हरियो पत्थरको अवशेषपात्रसहितको एउटा ढुङ्गाको बाकस भेटिएको थियो। त्यसमा केही अस्थि–अवशेष तथा मोतीजस्ता वस्तुहरू रहेको विवरण पाइन्छ। यो स्तूप सम्राट अशोकले निर्माण गर्नुभएको थियो। धर्मराजिक स्तूपमा भगवान् बुद्धको अस्थि धातु राखिएको थियो। ध्वंसको क्रममा, यसको भित्र माथिबाट ८.२५ मिटरको गहिराइमा अस्थि धातु भेटिएको थियो। उक्त अस्थि धातु पछि गङ्गा नदीमा फालिएको र बाहिरी ढुङ्गाको बाकस भने पछि गरिएको पुरातात्विक उत्खननका क्रममा पुनः फेला परेको थियो। जसलाई अहिले तेहाँको पुरातात्विक संग्राहलयमा सुरक्षित राखेको छ ।

त्यस समयमा धमेख स्तूपको बाहिरी भागमा समेत क्षति पुगेको थियो। यद्यपि, स्तूप पूर्ण रूपमा ध्वस्त हुनबाट जोगिएको थियो।

यहाँ पाठकहरू धमेख स्तूप, धर्मराजिका स्तूप र चौखंडी स्तूप लाई लिएर भ्रमित नहुन् भन्ने उद्देश्यले केही कुरा स्पष्ट गर्न आवश्यक छ। धमेख स्तूप, धर्मराजिका स्तूप र चौखंडी स्तूपहरु एउटै होइनन्। यी सबै स्तूपहरु सारनाथमा अवस्थित भए पनि तिनको अवस्था फरक छ। धमेख स्तूप आज पनि विशाल, आकर्षक र तुलनात्मक रूपमा संरक्षित अवस्थामा उभिएको छ भने धर्मराजिका स्तूपको अधिकांश भाग नष्ट भइसकेको छ र अहिले त्यसको भग्नावशेष तथा आधार मात्र बाँकी रहेको छ भने चौखंडी स्तुप अहिले पनि छ ।

सारनाथका तीन प्रमुख स्तूपहरू: भ्रम र यथार्थ

धेरै पाठकहरू सारनाथका स्तूपहरूलाई लिएर झुक्किने गरेको पाइन्छ। यहाँका तीनवटै स्तूपको आफ्नै विशिष्ट महत्त्व छ:

१. धमेख स्तूप: धमेख स्तूप सम्राट् अशोकले बुद्धका अवशेष राख्ने उद्देश्यले ईसापूर्व तेस्रो शताब्दीमा निर्माण गराएको मानिन्छ। पछि पाँचौँ–छैटौँ शताब्दीमा यसको पुनर्निर्माण तथा विस्तार गरिएको इतिहास पाइन्छ। यो विशाल स्तूप करिब ४३.६ मिटर(करिब १४३ फिट) अग्लो र २८ मिटर (करिब ९२ फिट) व्यासको रहेको छ। बुद्धले पहिलो धर्मोपदेश अर्थात् धर्मचक्र प्रवर्तन गर्नुभएको स्थानसँग सम्बन्धित यस स्तूपलाई आज सारनाथको प्रमुख ऐतिहासिक तथा पर्यटकीय आकर्षणका रूपमा लिइन्छ।
यद्यपि, भारत सरकार तथा धेरै पुरात्वविद्हरूले धमेख स्तूपलाई बुद्धको प्रथम धर्मोपदेशको स्मारकका रूपमा मान्दै आएका छन्। तथापि, केही पुरातत्वविद् तथा विद्वानहरूले बुद्धले पहिलो धर्मोपदेश दिनुभएको वास्तविक स्थलको ठ्याक्कै केन्द्रबिन्दु यही स्तूप रहेको हो कि होइन भन्ने विषयमा मतभेद व्यक्त गरेका छन्।

२. धर्मराजिका स्तूप: धर्मराजिका स्तूप सम्राट् अशोकले निर्माण गराएको मानिन्छ। त्यसपछि कुषाण तथा गुप्तकालमा यस स्तूपको पटक–पटक पुनर्निर्माण तथा विस्तार गरिएको इतिहास पाइन्छ। हाल यस स्तूपको अधिकांश भाग नष्ट भइसकेको छ र भग्नावशेष तथा करिब ३ फिट उचाइको वृत्ताकार आधार संरचना मात्र बाँकी रहेको छ। यसलाई भगवान् बुद्धको अस्थिधातु राखिएको स्तूपका रूपमा मानिन्छ। हालैका पुरातात्विक उत्खननबाट यहाँ इँटाको घेरा तथा प्राचीन संरचनाका अन्य अवशेषहरू फेला परेका छन्, जसले यस स्थलको ऐतिहासिक तथा पुरातात्त्विक महत्वलाई थप पुष्टि गर्छन्।

३. चौखंडी स्तूप: चौखंडी स्तूप चिनियाँ बौद्ध यात्री ह्वेन–त्साङले आफनो यात्राको क्रममा चौखंडी स्तुपलाई ३०० फिट अग्लो अवस्थामा देखेका थिए भनेर आफनो यात्रा वृतान्तमा उल्लेख गर्नु भएको छ। भगवान बुद्धका पूर्व पाँच जना सहचारी श्रमणहरुको समूहले पहिलो पटक भगवान् बुद्धलाई यहीँ स्थानम भेटेका थिए। जहाँ एक बिशाल स्तुप निर्माण गरेको थियो। जसलाई चौखंडी स्तुप भनिन्छ ।

यो स्थान सारनाथ उत्खनन क्षेत्रभन्दा करिब ७०० मिटर दक्षिणमा अवस्थित चौखंडी स्तूप एक महत्वपूर्ण प्राचीन बौद्ध स्मारक हो। यसको मूल संरचना प्राचीन इँटाबाट निर्मित भएको देखिन्छ। उत्खननबाट आयताकार आधार, तीनवटा तह तथा विभिन्न वास्तु अवशेषहरू प्राप्त भएका छन्।

सन् १५८८ ईस्वीमा अकबरको शासनकालमा गोवर्धनले हुमायूँको सारनाथ भ्रमणको स्मरणमा यसको माथिल्लो भागमा अष्टकोणीय टावर निर्माण गराएका थिए। सन् १८३५ मा जनरल कनिङ्घमले यसलाई सम्भावित स्मृति स्तूपका रूपमा पहिचान गरेका थिए। बौद्ध परम्पराअनुसार, यही स्थानमा बुद्धले बोधगयाबाट सारनाथ आउने क्रममा आफ्ना पूर्वसहचारी पञ्चवर्गीय पाँच श्रमणहरूलाई पहिलोपटक भेट्नुभएको मानिन्छ।

सन् १९०४–०५ को उत्खननबाट स्तूपको तल्लो भाग, तीनवटा तह, सजावटी इँटाका संरचना तथा सिंहमा सवार मानव सैनिकहरू चित्रित दुईवटा मूर्तिशिल्पी पट्टिका फेला परेका थिए। यी अवशेषहरूले चौखंडी स्तूपको प्राचीनता, वास्तुकला र ऐतिहासिक महत्त्व स्पष्ट पार्छन्।

 

पुनःखोज र संरक्षण

मौर्य सम्राट् अशोकको शासनकालमा सारनाथमा स्तूप, स्तम्भ तथा अन्य धार्मिक संरचनाहरू निर्माण तथा विकास गरिएका थिए। त्यसपछिका शताब्दीहरूमा पनि कुषाण, गुप्त तथा अन्य शासकहरूको संरक्षणमा सारनाथमा बौद्ध विहार, स्तूप र विभिन्न कलात्मक संरचनाहरू थपिँदै गए। विशेषगरी गुप्तकालमा सारनाथ बौद्ध कला तथा मूर्तिकलाको महत्वपूर्ण केन्द्रका रूपमा विकसित भयो। यहाँबाट प्राप्त बुद्धका मूर्ति तथा अन्य कलाकृतिहरूले सारनाथको उच्चस्तरीय कलात्मक परम्परालाई प्रमाणित गर्छन्।

तर, विभिन्न कालखण्डमा भएका आक्रमण, अतिक्रमण तथा राजनीतिक–धार्मिक परिवर्तनका कारण सारनाथको बौद्ध संस्थागत संरचना क्रमशः कमजोर हुँदै गयो। बौद्धमार्गीहरू विस्थापित हुँदै गएपछि मध्यकालपछि सारनाथ क्रमशः उपेक्षित अवस्थामा पुग्यो र त्यहाँका धेरै धार्मिक तथा पुरातात्त्विक संरचनाहरू भग्नावशेषमा परिणत भए।

सन् १७९४ को घटनापछि जोनाथन डन्कनको विवरणले सारनाथप्रति विद्वान्हरूको ध्यान आकर्षित गरायो। त्यसपछि अलेक्जेन्डर कनिङ्घमले सन् १८३५–३६ मा यहाँ उत्खनन गरे भने Friedrich Oertel ले सन् १९०४–०५ मा व्यवस्थित तथा वैज्ञानिक ढङ्गले उत्खनन गरे। पुरातत्वविद्हरूको अनुसन्धान तथा उत्खननबाट यहाँका स्तूप, विहार, अशोक स्तम्भका अवशेष, मूर्ति तथा अन्य पुरातात्त्विक सामग्रीहरू फेला परे। पछि भारतीय पुरातत्व सर्वेक्षण (Archaeological Survey of India) ले सारनाथको संरक्षण तथा व्यवस्थापन गर्दै आएको छ। आज सारनाथ प्राचीन बौद्ध सम्पदाको संरक्षण गरिएको प्रमुख धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलका रूपमा स्थापित भएको छ।

सारनाथको इतिहासबाट शान्ति, सहिष्णुता र मानवताको सन्देशः
आफ्नो धर्म र आस्थाप्रतिको श्रद्धा संसारका सबै समुदायमा हुन्छ। तर आफ्नो आस्था स्थापित गर्न अर्काको धार्मिक सम्पदा भत्काउनु वा नष्ट गर्नु कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन। इतिहासलाई प्रतिशोधका लागि होइन, विगतका गल्तीबाट सिक्नका लागि सम्झनुपर्छ। सारनाथ आज कुनै एक धर्म वा समुदायको मात्र सम्पदा होइन; यो मानव सभ्यताको साझा सम्पदा हो। त्यसैले विगतमा जसबाट जे–जस्तो क्षति भएको भए पनि, आजको हाम्रो जिम्मेवारी बाँकी सम्पदाको संरक्षण गर्नु तथा धार्मिक सहिष्णुता र सहअस्तित्वलाई अझ बलियो बनाउनु हो।

हालै नेपालको सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा हिन्दू–मुस्लिम समुदायबीच भएको दुःखद झडपले पनि हामीलाई धार्मिक असहिष्णुताले निम्त्याउन सक्ने परिणामबारे गम्भीर भएर सोच्न बाध्य बनाएको छ। यस्तो घटनालाई कुनै समुदायप्रतिको घृणा वा प्रतिशोधको आधार बनाउनुको सट्टा, यसबाट पाठ सिकेर हिन्दू, मुस्लिम, बौद्धलगायत सबै समुदायबीच आपसी सम्मान, भाइचारा, सहिष्णुता र सहअस्तित्वलाई अझ बलियो बनाउन आवश्यक छ।

सारनाथको इतिहासले हामीलाई विगतका विभाजन र विनाशबाट शिक्षा लिएर आज शान्ति र मानवताको बाटो रोज्न प्रेरित गर्दछ। सारनाथ आज कुनै एक धर्म वा समुदायको मात्र सम्पदा होइन; यो मानव सभ्यताको साझा सम्पदा हो। बुद्धले दिनुभएको शान्ति, करुणा, अहिंसा र मानव कल्याणको सन्देश कुनै एक समुदायका लागि मात्र नभई सम्पूर्ण मानवताका लागि हो। त्यसैले विगतमा जसबाट जे प्रकारको क्षति भएको भए पनि, आजको हाम्रो जिम्मेवारी भनेको एकअर्काको धर्म, आस्था र सांस्कृतिक सम्पदाको सम्मान गर्दै सबै मिलेर साझा सम्पदाको संरक्षण गर्नु तथा धार्मिक सहिष्णुता, भाइचारा र सहअस्तित्वलाई बलियो बनाउनु नै आजको सच्चा मानवधर्म हो।

(लेखकः बिजय क्रान्ति शाक्य, जनस्वास्थ्य तथा संस्कृतिविद्)