बाजुरा पहिरो अपडेट: बेपत्ता र घाइतेको पहिचान खुल्यो, घाइते दुई जनालाई अस्पताल लगियो
बाजुरा, २९ साउन । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा गए राति खसेको विनाशकारी पहिरोमा परी बेपत्ता भएकी युवती र घाइतेहरूको पहिचान खुलेको छ। पहिरोले दुईवटा घर पूर्ण रूपमा नष्ट गर्दा एक युवती बेपत्ता भएकी हुन् भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार पहिरोमा पुरिएर स्थानीय २० वर्षीया प्रतीक्षा थापा बेपत्ता भएकी छन्। उनी स्थानीय धर्म थापाकी छोरी हुन्। यस्तै, पहिरोमा परेर स्थानीय धर्म थापा र धौलीदेवी रावल घाइते भएका छन्। सूचना अधिकारी नरेशबहादुर शाहीका अनुसार धर्म थापाको बायाँ खुट्टा र शरीरमा गम्भीर चोट लागेको छ भने धौलीदेवीको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइते दुवै जनालाई प्राथमिक उद्धारपछि थप उपचारका लागि जिल्ला अस्पताल मार्तडी पुर्याइएको छ।
अविरल वर्षाका कारण माथिबाट खसेको पहिरोले स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घर पूर्ण रूपमा ध्वस्त बनाएको छ। घरभित्र सुतिरहेकै अवस्थामा पहिरो खसेकाले प्रतीक्षा थापालाई लेदोले पुरेको र उनी अझै फेला नपरेको प्रहरीले जनाएको छ।
बेपत्ता प्रतीक्षाको खोजीका लागि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा सक्रिय छ। उद्धार र खोजी कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाहरू पनि ठुलो सङ्ख्यामा खटिएका छन्।
निरन्तरको वर्षा र पहिरोको जोखिम अझै कायमै रहेकाले उद्धार कार्यमा केही कठिनाइ भइरहेको छ। सुरक्षाकर्मीहरूले भग्नावशेष पन्छाएर बेपत्ता युवतीको खोजी कार्यलाई तीव्र बनाएका छन्।