सुदूरपश्चिममा एमालेका ३ मन्त्री र १ राज्यमन्त्रीद्वारा शपथ ग्रहण

धनगढी, २९ साउन । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा (एमाले) औपचारिक रूपमा सहभागी भएको छ । एमालेका तर्फबाट तीन जना मन्त्री र एक जना राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रदेश प्रमुख नजिर मियाँले नयाँ नियुक्त मन्त्रीहरूलाई धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गराउनुभएको हो ।
एमालेबाट मन्त्री बन्नेहरूमा १. सन्तोष शर्मा थापा: सामाजिक विकास मन्त्री (एमाले संसदीय दलको उपनेता)
२. चक्र मल्ल: आर्थिक मामिला मन्त्री (एमाले प्रमुख सचेतक)
३. दमन भण्डारी: भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री
४. जानकी ऐर बम: आर्थिक मामिला राज्यमन्त्री रहेका छन् ।

एमाले संसदीय दलको बैठकले उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेसँगै यी नामहरू सिफारिस भएका थिए । यसअघि शुक्रबार नै प्रदेश प्रमुख नजिर मियाँले नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्टलाई सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्रीमा नियुक्त भएसँगै भट्टले पनि शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

मुख्यमन्त्री भट्टले शपथ लिएर कार्यभार सम्हाले पनि उनको आफ्नै दलबाट भने तत्काल कसैलाई मन्त्री नियुक्त गरिएको छैन । एमालेका मन्त्रीहरूको शपथसँगै सुदूरपश्चिममा नयाँ सत्ता समीकरणले पूर्णता पाउन थालेको छ ।