साताको अन्तिम दिन सेयर बजार ७ अंकले घट्यो, ४ अर्ब २७ करोडको कारोबार

काठमाडौँ, २९ साउन । साताको अन्तिम कारोबार दिन शुक्रबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा सामान्य गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ७.३७ अंकले ओरालो लागेर २६४३.८३ विन्दुमा झरेको छ।

नेप्से परिसूचक घटे पनि ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.१३ अंकले बढेर ४६४.७३ विन्दुमा पुगेको छ। यस्तै, फ्लोट सूचक ०.४० अंक र सेन्सेटिभ फ्लोट सूचक ०.१९ अंकले घटेका छन्।

आज बजारमा कुल ९७ लाख ५४ हजार ४०३ कित्ता सेयर ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार ४०२ रुपैयाँमा खरिदबिक्री भएको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये ४ वटाको सूचक बढ्दा ९ वटा उपसमूहमा गिरावट देखिएको छ।

आज कुल १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको मूल्य घटेको छ। बाँकी १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ। यस दिन सर्वाधिक कमाउनेमा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट, सर्वोत्तम पेन्ट्स (सिमेन्ट) र खानीखोला हाइड्रोपावरका लगानीकर्ता छन्।

सर्वाधिक गुमाउनेमा सुपरखुदी हाइड्रोपावर, सिटिजन सन्तुलित योजना र साङ्ग्रिला विकास बैंक रहेका छन्। साताको अन्तिम दिन बजारमा सामान्य गिरावट आए पनि कारोबार रकम भने ४ अर्ब माथि नै कायम रहनुले लगानीकर्ताहरू अझै बजारप्रति आशावादी रहेको सङ्केत गरेको छ।