बाढी र पहिरोले अरनिको र मध्यपहाडीसहित देशका दर्जनौँ सडक ठप्प
काठमाडौँ, २९ साउन । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी र पहिरोले सडक यातायात छिन्नभिन्न पारेको छ। नेपाल प्रहरीले आज बिहान ९:०० बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, देशका मुख्य राजमार्ग र रणनीतिक सडकखण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।
बाढी र पहिरोका कारण मुुलुकका विभिन्न स्थानमा सडकको अवस्था यस्तो छ:
१. बिपी र कान्ति लोकपथमा रातको समयमा रोक
बिपी राजमार्ग (काभ्रे–सिन्धुली): बाढीको उच्च जोखिमलाई ध्यानमा राख्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहानको समयमा भने सवारी चल्न दिइएको छ।
कान्ति लोकपथ (मकवानपुर): वर्षाका कारण सुरक्षा संवेदनशीलता हेरी यो सडकमा पनि बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारीसाधन चलाउन निषेध गरिएको छ।
२. अरनिको र मेची राजमार्ग पूर्ण अवरुद्ध
अरनिको राजमार्ग (सिन्धुपाल्चोक): भोटेकोशी गाउँपालिकाको चारकिलो र कोदारी (इकु) मा पहिरोसहितको लेदो खसेर सडक ठप्प छ। यस्तै, लिपिङमा सडक भासिएका कारण यातायात पूर्ण रूपमा विच्छेद भएको छ।
मेची राजमार्ग (इलाम): राजदुवाली खण्डमा सडक अत्यधिक हिलाम्मे भएपछि सवारी साधन चल्न सकेका छैनन्। यहाँ वैकल्पिक मार्ग भने सञ्चालनमा छ।
३. मध्यपहाडी र भेरी करिडोरमा अवरोध
मध्यपहाडी लोकमार्ग (रुकुम पूर्व): भूमे गाउँपालिकाको काडाबगर र धौलापहिरामा पहिरो खस्दा लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
मध्यपहाडी लोकमार्ग (लमजुङ): मध्यनेपाल नगरपालिकाको बिमिरेभञ्ज्याङमा पहिरोका कारण बाटो बन्द छ।
भेरी करिडोर (रुकुम पश्चिम): जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत रिजेगार्ड खोलामा पहिरो खसेर सडक अवरुद्ध भएको छ।
४. अन्य महत्वपूर्ण सडकहरूको अवस्था
बेनी–जोमसोम (म्याग्दी): रघुगङ्गा–२ बैँसेरी र अन्नपूर्ण–७ महभीरमा पहिरो खसेपछि यो प्रसिद्ध पर्यटकीय सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बेँसीसहर–मनाङ (लमजुङ): बेँसीसहर–६ खरखरे भीरमा पहिरो खस्दा यातायात ठप्प छ।
त्रिशूली–मैलुङ–स्याफ्रुबेशी (रसुवा): उत्तरगया–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि आवतजावत पूर्ण रूपमा बन्द भएको छ।
नेपाल प्रहरीले वर्षायाममा सडकको अवस्था छिनछिनमा परिवर्तन भइरहने भएकाले लामो दूरीको यात्रामा निस्कनुअघि विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
