काभ्रेको खानीखोलामा जिप दुर्घटना: २ को मृत्यु, ३ गम्भीर घाइते

काभ्रेपलाञ्चोक, १ भदौ । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१ स्याउरीथलीमा आज बिहान एउटा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पनौती–तालढुङ्गा भित्री सडकखण्डमा गुडिरहेको जिप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा ज्यान गुमाउने दुवै जनाको सनाखत हुन सकेको छैन । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी अन्य तीन जना यात्रु गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइतेहरूलाई तत्काल थप उपचारका लागि लैजान हेलिकप्टरको समन्वय गरिएको भए पनि प्रतिकूल मौसमका कारण उद्धारमा कठिनाइ भएको छ । खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर तामाङका अनुसार बाक्लो कुहिरोका कारण हेलिकप्टर घटनास्थलमा अवतरण गर्न सकेन ।

अहिले घाइतेहरूलाई एम्बुलेन्समार्फत बेथानचोक गाउँपालिका–५ कामीडाँडास्थित खेलमैदानसम्म ल्याउने कार्य भइरहेको छ । “हेलिकप्टर बस्न नसकेपछि एम्बुलेन्सबाट कामीडाँडा ल्याउँदैछौँ, त्यहाँबाट पुनः हेलिकप्टरमार्फत अस्पताल लैजाने प्रयास भइरहेको छ,” अध्यक्ष तामाङले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं सूचना अधिकारी रबिन विष्टका अनुसार दुर्घटनाग्रस्त जिपको नम्बर अझै खुल्न सकेको छैन । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय र नजिकैको प्रहरी चौकीबाट टोली उद्धारका लागि खटिएको छ ।