शेयर बजारमा झिनो गिरावट, कारोबार रकममा भने उत्साह

काठमाडौँ, १ भदौ । साताको पहिलो कारोबार दिन सोमबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार जस्तै आज पनि बजारमा झिनो गिरावट देखिएको हो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक २.२५ अङ्कले ओरालो लागेर २६४१.५८ विन्दुमा झरेको छ। नेप्सेसँगै ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स १.०८ अङ्क र फ्लोट इण्डेक्स ०.५१ अङ्कले घटेका छन्।

परिसूचक घटे पनि कारोबार रकममा भने आज उत्साह देखिएको छ। गत शुक्रबार ४ अर्ब २७ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज ३५० कम्पनीका १ करोड १९ लाख ३२ हजार कित्ता सेयर ५६ हजार ८१८ पटक खरिदबिक्री भएका छन्।

आजको बजारमा सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सर्वोत्तमको मूल्य ५९ रुपैयाँ ५० पैसाले बढेर ४५६ रुपैयाँ २० पैसा पुगेको छ भने माउन्ट एभरेष्टको मूल्य ५२४ रुपैयाँ ६० पैसा कायम भएको छ। यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्स र सगरमाथा जलविद्युत्को मूल्य पनि ११ प्रतिशतभन्दा बढीले बढेको छ। यता, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तका लगानीकर्ताले भने सबैभन्दा धेरै ६.६३ प्रतिशतले गुमाएका छन्।

कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रह्यो। यस कम्पनीको मात्रै १ अर्ब ३८ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। यस्तै, सोलु हाइड्रोपावरको साढे ३८ करोड र रिडी पावरको साढे १६ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

कारोबार भएका १३ उपसमूहमध्ये ५ वटाको सूचक बढेको छ भने ८ वटाको घटेको छ। आज उत्पादन तथा प्रशोधन समूह १.३० प्रतिशतले बढ्दा जलविद्युत्, म्युचुअल फण्ड र व्यापार समूह पनि सामान्य अङ्कले सकारात्मक रहेका छन्। यता, वित्त (फाइनान्स) उपसमूहमा भने १.१४ प्रतिशतको गिरावट देखिएको छ।