खहरेमा बगेर बेपत्ता भएकी सुमित्राको शव राप्ती खोला किनारमा फेला, ज्यान गुमाउनेको सङ्ख्या तीन पुग्यो

हेटौँडा, ५ भदौ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९, बस्तीपुरस्थित खहरे खोलामा बगेर बेपत्ता भएकी ११ वर्षीया बालिका सुमित्रा ब्लोनको शव शुक्रबार बिहान राप्ती खोला किनारमा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार गएरातिदेखि खोजीमा खटिएको सुरक्षाकर्मी र स्थानीयको संयुक्त टोलीले बालिकाको शव फेला पारेको हो। गत मङ्गलबार साँझ विद्यालयबाट घर फर्कने क्रममा अचानक आएको बाढीका कारण सुमित्रासहित चार जना बालिकाहरू खहरे खोलामा बगेका थिए।

प्रहरी प्रवक्ता काफ्लेका अनुसार सो दुर्घटनामा परी ज्यान गुमाउने बालिकाको सङ्ख्या तीन पुगेको छ। खहरेमा बगेकामध्ये एक जना बालिका भने बाढीले किनारतर्फ बगाएका कारण सकुशल बच्न सफल भएकी थिइन्। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि हेटौँडा अस्पताल पठाएको जनाएको छ।