वर्षा र पहिरोले देशभरका १० जिल्लाका मुख्य राजमार्ग ठप्प, कतै रात्रिकालीन यात्रामा रोक
काठमाडौँ, ६ भदौ । अविरल वर्षा र त्यसपछि खसेको पहिरोका कारण देशका विभिन्न १० जिल्लाका मुख्य सडक तथा राजमार्गहरू अवरुद्ध भएका छन् । बाढी र पहिरोको जोखिम बढेपछि कतिपय सडकखण्डमा रात्रिकालीन सवारी सञ्चालनमा समेत रोक लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ ।
कहाँ–कहाँ लाग्यो रात्रिकालीन यात्रामा रोक ?
१. काभ्रेपलाञ्चोक: खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकमा बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।
२. मकवानपुर: कान्ति लोकपथमा पनि वर्षाका कारण जोखिम बढेपछि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको छ ।
३. नुवाकोट: टोखा–छहरे सडकखण्डमा अत्यावश्यक बाहेकका सवारीसाधनलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न रोक लगाइएको छ ।
यी राजमार्गहरू पूर्ण रूपमा ठप्प
सिद्धार्थ राजमार्ग (पाल्पा): तिनाउ गाउँपालिका–३ सिद्धबाबा सुरुङमार्गको प्रवेश बिन्दु नजिकै आज बिहान पहिरो खसेपछि यो राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
अरनिको राजमार्ग (सिन्धुपाल्चोक): भोटेकोशीको कोदारीमा पहिरो खस्नुका साथै लिपिङमा सडक भासिएपछि राजमार्ग ठप्प भएको छ ।
पासाङल्हामु र त्रिशूली–मैलुङ सडक (रसुवा): नदी कटान र पहिरोका कारण पासाङल्हामु र त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी दुवै सडक पूर्ण रूपमा बन्द छन् ।
मेची राजमार्ग (इलाम): इलाम नगरपालिका–९ राजदुवालीमा सडकमा हिलो जमेका कारण यातायात अवरुद्ध भएको छ ।
भेरी करिडोर (रुकुम पश्चिम): जाजरकोट–डोल्पा सडकखण्डको रिजेगार्ड खोलामा पहिरो खस्दा यातायात सेवा पूर्णतः प्रभावित भएको छ ।
अन्य सडक: लमजुङको बेँसीसहर–मनाङ, रोल्पाको घोराही–थवाङ सहिदमार्ग पनि पहिरोका कारण बन्द रहेका छन् ।
प्रहरी प्रधान कार्यालयले सडक अवरुद्ध भएका स्थानमा पहिरो र बाढीको जोखिम अझै कायम रहेकाले सावधानीपूर्वक यात्रा गर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणमा आग्रह गरेको छ । अवरुद्ध सडकहरू खुलाउन सम्बन्धित निकायसँगको समन्वयमा प्रयास भइरहेको समेत प्रहरीले जनाएको छ ।