रुकुम पश्चिममा विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

काठमाडौँ, भदौ ७ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ८ स्थित मध्यपहाडी लोकमार्गमा आज बिहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सिम्लीबाट चौरजहारीतर्फ गइरहेको विद्युतीय गाडी (ईभी) ले मुसिकोट खलङ्गाबाट सुर्खेततर्फ जाँदै गरेको अर्को गाडीलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४, बलेटक्सार घर भएकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी झविन्द्र परियारका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका आमाछोरीलाई तत्काल उपचारका लागि सल्लेस्थित जिल्ला अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा संलग्न विद्युतीय गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।