अपराधीलाई कारबाही गर्न प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ पर्याप्त छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ, भदौ ७ प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका कुनै पनि आपराधिक घटना प्रहरी सङ्गठनको ‘इन्स्टिच्युसनल मेमोरी’ (संस्थागत स्मरण) मा सुरक्षित रहने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) सँग कुराकानी गर्दै उहाँले अपराध भएको लामो समय बिते पनि दोषीलाई जुनसुकै बेला कानुनी दायरामा ल्याइने दृढता व्यक्त गर्नुभयो ।

महानिरीक्षक कार्कीले व्यक्तिको स्मरण शक्ति समयसँगै हराउन सक्ने भए पनि प्रहरी एक स्थायी संस्था भएकाले यसले न्यायका लागि अनवरत लडाइँ जारी राख्ने उल्लेख गर्नुभयो । दशकौँ पुराना घटनाका दोषीहरू पनि हाल पक्राउ परिरहेको उदाहरण दिँदै उहाँले भन्नुभयो, “प्रहरीले पुराना घटनालाई कहिल्यै भुल्दैन, अनुसन्धानको प्रक्रिया निरन्तर चलिरहन्छ ।”

पुराना र जघन्य अपराधको विशेष अनुसन्धान
चर्चित र पुराना मुद्दाहरूको अनुसन्धानका लागि विशेष टोली परिचालन गरिएको जानकारी दिँदै महानिरीक्षक कार्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत जघन्य अपराधका घटनाहरूको पुनः अध्ययन भइरहेको बताउनुभयो । नयाँ र पुराना मुद्दालाई समानान्तर रूपमा अगाडि बढाइएको र केही जटिल मुद्दाहरूमा सफलता समेत प्राप्त भइरहेको उहाँको भनाइ थियो ।

प्रविधिमैत्री प्रहरी र आधुनिक चुनौती
परम्परागत अनुसन्धान पद्धतिले मात्र वर्तमानका सुरक्षा चुनौतीहरू सम्बोधन गर्न नसक्ने स्वीकार गर्दै उहाँले प्रहरी सेवालाई प्रविधिमैत्री बनाइएको बताउनुभयो । पछिल्लो समय प्रविधिजन्य र आर्थिक अपराधमा वृद्धि भएकाले त्यसलाई नियन्त्रण गर्न विशिष्टीकृत अनुसन्धान इकाई र दक्ष जनशक्ति परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

महानिरीक्षक कार्कीले भन्नुभयो, “नागरिकले प्रहरी कार्यालयमै नपुगी घरबाटै उजुरी दिन र प्रगति बुझ्न सक्ने गरी ‘नेपाल पुलिस एप’ जस्ता प्रणाली विकास गरिएको छ । यसले प्रहरी सेवालाई पूर्वानुमानयोग्य र पारदर्शी बनाएको छ ।”

अन्तर्राष्ट्रिय समन्वय र सार्वजनिक अपील
अपराधको विश्वव्यापी सञ्जाललाई तोड्न नेपाल प्रहरीले इन्टरपोल र अन्य मुलुकका सुरक्षा निकायहरूसँग निरन्तर समन्वय गरिरहेको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय मापदण्डको ‘पुलिसिङ’ अवलम्बन गर्दै प्रविधिमार्फत हुने अपराध नियन्त्रण गर्न सङ्गठन सक्षम रहेको उहाँको दाबी छ ।

अन्त्यमा, शान्ति सुरक्षा कायम गर्नु राज्यको मात्र नभई नागरिकको पनि साझा दायित्व भएको उल्लेख गर्दै महानिरीक्षक कार्कीले आपराधिक गतिविधिबारे सूचना दिएर प्रहरीलाई सहयोग गर्न आम नागरिकसँग अपील गर्नुभएको छ ।