दमौली-भरतपुर २२० केभी प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटान स्वीकृति
काठमाडौँ, असोज ५ । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली-भरतपुर २२० केभी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटान गर्न आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइनअन्तर्गत तनहुँमा पर्ने रुखको छपान तथा टाँचा लगाउने कार्य सम्पन्न भएपछि डिभिजन वन कार्यालयले थप १२ सामुदायिक वनमा प्रवेश गरी रुख कटान गर्न स्वीकृति दिएको हो । यससँगै प्रसारण लाइन क्षेत्रमा पर्ने तनहुँका सबै १७ सामुदायिक वनमा रुख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएको छ ।
प्रसारण लाइनअन्तर्गत देवघाट गाउँपालिकामा पाँच तथा बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकामा छ-छ वटा सामुदायिक वन रहेका छन् । चितवनतर्फ भने रुख कटानको काम जारी रहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिनुभयो ।
दमौली-भरतपुर २२० केभी प्रसारण लाइन निर्माणको प्याकेज ३ अन्तर्गत करिब ३५ किलोमिटर क्षेत्रमा ९४ वटा टावर निर्माण गर्नुपर्नेछ । निर्माण व्यवसायी केइसी इन्टरनेशनल लिमिटेड, भारतले हालसम्म ८३ वटा टावरको जग निर्माण तथा ७८ वटा टावर जडानको काम सम्पन्न गरेको छ ।
आयोजना प्रमुख भण्डारीका अनुसार प्याकेज–३ को समग्र निर्माण प्रगति ८२ प्रतिशत पुगेको छ । रुख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएसँगै प्रसारण लाइन निर्माणको बाँकी कामलाई थप गति दिन सहज हुने आयोजनाले जनाएको छ ।
तनहुँ जलविद्युत आयोजनाको निर्माण तीनवटा प्याकेजमा भइरहेको छ । प्याकेज १ अन्तर्गत बाँधलगायत संरचना निर्माणको काम सोङ्दा कालिका जेभीमार्फत भइरहेको छ । उक्त प्याकेजको निर्माण प्रगति ६३ प्रतिशत पुगेको छ ।
त्यस्तै, प्याकेज २ अन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरण निर्माणको काम सिनो हाइड्रो कर्पोरेसन, चीनले गरिरहेको छ । उक्त प्याकेजको निर्माण प्रगति ७९ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।
आयोजनाको समग्र निर्माण प्रगति भने ७८ प्रतिशत पुगेको जनाइएको छ ।
