कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दो, झापा सबैभन्दा उच्च जोखिममा

झापा, ५ असोज । कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ। झापा जिल्ला डेंगुको सबैभन्दा उच्च जोखिममा देखिएको छ।

कोशी प्रदेशको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत स्मृती लुईँटेलका अनुसार सन् २०२६ को सेप्टेम्बर १९ सम्मको तथ्याङ्कअनुसार प्रदेशमा ७९३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ। डेंगुको संक्रमण प्रदेशका १३ जिल्लामा फैलिएको छ।

उनका अनुसार झापामा मात्रै हालसम्म २२८ जनामा संक्रमण पुष्टि भइसकेको छ। दोस्रो धेरै संक्रमित भएको जिल्ला सुनसरी हो, जहाँ २०३ जनामा संक्रमण पुष्टि भइसकेको छ।

निर्देशनालयका अनुसार ओखलढुंगामा १२२ जना र खोटाङमा ८२ जनामा संक्रमण देखिएको छ। यसैगरी संखुवासभामा १८, पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, धनकुटामा चार, मोरङमा २०, सोलुखुम्बुमा तीन, तेह्रथुममा तीन र ताप्लेजुङमा एक जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

लुईँटेलका अनुसार सोही अवधिमा विभिन्न जिल्लामा डेंगु संक्रमणका ५१ वटा सम्भावित र दुई वटा शङ्कास्पद बिरामी अस्पतालमा रहेका छन्। संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्नेलगायतका अभियान सञ्चालन आवश्यक रहेको उनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *