चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ, ८ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले अधिकांश भूभागमा बदली र वर्षाको क्रम जारी रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभरको मौसम प्रभावित भएको हो ।

अहिले बिहान देशभर साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा कोशी, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाले जारी गरेको मौसम बुलेटिन अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ । यस्तै, हिमाली भूभागका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ ।

तराई क्षेत्रको हकमा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान तथा मधेस र कोशी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

आज राति पनि देशभरको मौसममा बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्राकृतिक प्रकोपको जोखिम रहेकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । वर्षाका कारण जनजीवन, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्र प्रभावित हुनुका साथै सडक तथा हवाई यातायातमा समेत अवरोध आउन सक्ने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन र मौसमसम्बन्धी पछिल्लो सूचनामा अद्यावधिक रहन आग्रह गरिएको छ ।