पोल्ट्री किसानका १२ बुँदे माग : न्यूनतम समर्थन मूल्य तोक्न र बिचौलियाको ठगी नियन्त्रण गर्न सरकारसँग आग्रह
काठमाडौँ, ८ भदौ । नेपाली कुखुरापालक किसानहरूले आफ्नो पेसामा देखिएका विविध समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदै १२ बुँदे माग अघि सारेका छन् । उत्पादन लागतका आधारमा उचित मूल्य नपाएको र बजारमा बिचौलियाको बिगबिगी बढेको भन्दै उनीहरूले कृषि, वन तथा वातावरण मन्त्रीसमक्ष मागपत्र पेस गरेका हुन् ।
आफ्ना मागहरू पूरा गराउन दबाब दिने उद्देश्यले किसानहरूले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शनसमेत गरेका छन् ।
किसानहरूले कुखुराको न्यूनतम समर्थन मूल्य सरकारले तत्काल तोक्नुपर्ने माग गरेका छन् । लागत, जोखिम र लगानीका आधारमा मूल्य निर्धारण हुनुपर्ने र मूल्य तोक्ने अधिकार स्वयं किसानलाई नै दिनुपर्ने उनीहरूको भनाइ छ ।
त्यसैगरी, बजारमा बिचौलिया र पोल्ट्री स्टोरहरूले काँटा (तराजु) मा ठगी गर्ने तथा विभिन्न बहानामा प्रतिकिलो १० देखि २० रुपैयाँसम्म मूल्य कटौती गर्ने प्रवृत्तिलाई सरकारले तत्काल अन्त्य गरी कडा कारबाही गर्नुपर्ने माग गरिएको छ ।
ह्याचरीहरूले तोकिएको भन्दा बढी मूल्यमा चल्ला बिक्री गर्ने गरेको र दानाको गुणस्तरमा समेत समस्या देखिएकाले नियमित अनुगमनको माग गरिएको छ । गुणस्तरहीन दानाका कारण किसानले ठुलो क्षति बेहोर्नुपरेको भन्दै किसानको गुनासो सुन्ने प्रभावकारी निकायको व्यवस्था गर्न आग्रह गरिएको छ ।
भारतबाट सङ्गठित रूपमा भइरहेको कुखुरा र चल्लाको अवैध तस्करीले स्वदेशी उत्पादनलाई धराशायी बनाएको भन्दै नाकामा कडाइ गर्न माग गरिएको छ । साथै, उत्पादन बढी भएको समयमा मासु सुरक्षित राख्न सातै प्रदेशमा सरकारी वा सहकारीस्तरमा ‘कुखुरा भण्डारण केन्द्र’ स्थापना गर्नुपर्ने किसानहरूको माग छ ।