कपाल छोटो बनाउन दबाब दिएको भन्दै ‘हेलो सरकार’ मा उजुरी : विद्यार्थी र विद्यालयबीच बढ्दो द्वन्द्व
चितवन, १० भदौ । पछिल्लो समय विद्यालय उमेरका किशोरहरूमा लामो कपाल पाल्ने मोह बढ्दै जाँदा यसले विद्यालय, अभिभावक र विद्यार्थीबीच नयाँ खालको विवाद निम्त्याएको छ। विद्यालयले कपाल काट्न दबाब दिएको भन्दै विद्यार्थीहरूले सिधै सरकारको गुनासो सुन्ने निकाय ‘हेलो सरकार’ र प्रहरीमा उजुरी दिन थालेका छन्।
चितवनका अभिभावकहरू विनोद ढकाल र बुद्धिकान्त न्यौपानेका अनुसार अहिलेका किशोरहरूलाई कपाल काट्न मनाउनु फलामको चिउरा चपाउनु सरह भएको छ। “विद्यालयबाट कपाल कटाउन फोन आउँछ, तर छोराले मान्दैन,” ढकाल भन्नुहुन्छ, “जबरजस्ती गर्ने अवस्था पनि छैन।”
पहिले विद्यालयले आफैँ कपाल काट्न लगाउने वा अनुशासित बनाउने नाममा कडाइ गर्ने गरे पनि अहिले कानुनी जटिलताका कारण विद्यालयहरूले अभिभावकलाई गुहार्न थालेका छन्।
सरकारले स्वीकृत गरेको शिक्षा नियमावलीको १०औँ संशोधनले विद्यार्थीको इच्छाविपरीत जबरजस्ती कपाल काट्न नपाउने व्यवस्था गरेको छ। नियमावलीको नियम २५ अनुसार विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक वा मनोसामाजिक अवस्थामा नकारात्मक असर पर्ने कुनै पनि गतिविधि विद्यालयमा गर्न पाइँदैन। विद्यार्थीको पहिरन, शृङ्गार वा साजसज्जाका आधारमा उनीहरूलाई होच्याउने वा लाञ्छित गर्ने कार्यलाई समेत कानुनले निषेध गरेको छ।
यही व्यवस्थालाई आधार मान्दै विद्यार्थीहरूले विद्यालयविरुद्ध उजुरी दिन थालेका हुन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवनका अध्यक्ष मदन पुरीका अनुसार देशभरका ३५ भन्दा बढी विद्यालयविरुद्ध कपाल काट्न दबाब दिएको भन्दै ‘हेलो सरकार’ मा उजुरी परेको छ।
मनोविज्ञानका उपप्राध्यापक डा. सुरेन्द्र घिमिरेका अनुसार यो प्रवृत्तिमा सामाजिक सञ्जाल र ‘सेलिब्रेटी’ संस्कृतिको ठुलो प्रभाव छ। “नक्कल गर्नु मानिसको नैसर्गिक गुण हो,” उहाँ भन्नुहुन्छ, “अहिले सानै उमेरमा इन्टरनेटको पहुँच पुगेकाले किशोरहरू विदेशी फेसन र सेलिब्रेटीको शैलीबाट प्रभावित भएका छन्।”
घिमिरेका अनुसार घर र विद्यालयले भनेको नमान्नुलाई किशोरावस्थाको ‘आज्ञाकारिताविरुद्धको साङ्केतिक विरोध’ का रूपमा पनि लिन सकिन्छ। उनीहरू आफूलाई आधुनिक र आकर्षक देखाउन परम्परागत शैलीभन्दा भिन्न देखिन चाहन्छन्।
लामो कपाल पाल्नु व्यक्तिगत स्वतन्त्रताको विषय भए पनि यसको व्यवस्थापनमा लाग्ने समय र खर्चले पढाइमा असर पर्न सक्ने विज्ञहरूको चिन्ता छ। लामो कपालको उचित स्याहार नहुँदा चाया, जुम्रा र गर्मीमा पसिनाका कारण छालासम्बन्धी समस्या हुनसक्ने तर्फ पनि स्वास्थ्यकर्मीहरूले सचेत गराएका छन्।
अहिलेको बदलिँदो परिस्थितिमा विद्यालय र अभिभावकले डन्डा चलाएर भन्दा पनि विद्यार्थीसँगको संवाद र परामर्श (काउन्सिलिङ) मार्फत यो समस्याको समाधान खोज्नुपर्ने देखिन्छ।