उसैन बोल्टभन्दा पनि तीव्र गति: चिनियाँ रोबोटले ८.८६ सेकेन्डमा पूरा गर्‍यो १०० मिटर दौड

 

बेइजिङ (एजेन्सी) । प्रविधिको क्षेत्रमा अर्को ठूलो छलाङ मार्दै चीनमा निर्मित एक मानवरूपी (ह्युमनोइड) रोबोटले दौडको विश्व कीर्तिमान तोडेको छ। बेइजिङमा जारी ‘वर्ल्ड ह्युमनोइड रोबोट गेम्स’ मा ‘टियाङगोङ अल्ट्रा’  नामको रोबोटले १०० मिटरको दूरी मात्र ८.८६ सेकेन्डमा पूरा गरेको हो।

यो गति विश्वका महान् धावक उसैन बोल्टले सन् २००९ मा कायम गरेको ९.५८ सेकेन्डको विश्व कीर्तिमानभन्दा पनि ०.७ सेकेन्डले छिटो हो। बेइजिङ ह्युमनोइड रोबोट इनोभेसन सेन्टरले विकास गरेको यस रोबोटले मंगलबार प्रतियोगिताको सेमिफाइनलमा सो सफलता प्राप्त गरेको हो।

यसअघि शनिबार भएको उद्घाटन खेलमा सोही रोबोटले ९.३९ सेकेन्डको रेकर्ड राखेको थियो भने स्मार्टफोन निर्माता कम्पनी अनरको ‘लाइटनिङ’ रोबोटले ९.४७ सेकेन्डमा दौड पूरा गरेको थियो। यी दुवै रोबोटले बोल्टको रेकर्डलाई उछिनेका छन्।

तीव्र विकासको नमुना
गत वर्षको पहिलो संस्करणमा टियाङगोङ रोबोटले यही दूरी पार गर्न २१.५० सेकेन्ड लगाएको थियो। एक वर्षको अन्तरालमा रोबोटले आफ्नो गतिमा गरेको सुधारलाई प्रविधि क्षेत्रको ठूलो उपलब्धिको रूपमा हेरिएको छ।

दौडका क्रममा केही नाटकीय दृश्यहरू समेत देखिएका थिए। ८.८६ सेकेन्डमा दौड पूरा गरेपछि रोबोट रोकिने क्रममा राखिएको म्याटमा ठोक्किँदा त्यसको शरीरमा सामान्य आगोको झिल्को देखिएको थियो। यस्तै, अर्को सेमिफाइनलमा एक रोबोट दौडिँदा-दौडिँदै बीचमै टुक्रा-टुक्रा भएको थियो।

चारवटा मानव रेकर्ड ध्वस्त
बेइजिङ ह्युमनोइड रोबोट इनोभेसन सेन्टरका अनुसार टियाङगोङ रोबोटले अहिलेसम्म चारवटा मानव विश्व कीर्तिमान तोडिसकेको छ। जसमा निम्न विधाहरू रहेका छन्:

  • १०० मिटर दौड: ८.८६ सेकेन्ड

  • ४०० मिटर दौड: ३८.१५ सेकेन्ड

  • १,५०० मिटर दौड: २ मिनेट २१.६४ सेकेन्ड

  • हाई जम्प (अग्लो उफ्राइ): २.८८ मिटर

चीनले ह्युमनोइड रोबोटलाई आफ्नो रणनीतिक उद्योगको रूपमा सूचीकृत गरेको छ। यस क्षेत्रमा बाइडु (Baidu) र शाओमी (Xiaomi) जस्ता ठूला प्रविधि कम्पनीहरूले ठूलो लगानी गरिरहेका छन्। हाल बेइजिङमा भइरहेको यो प्रतियोगितामा ६६६ टोलीका २ हजारभन्दा बढी रोबोटहरूले फुटबल, नृत्य र औद्योगिक कार्य जस्ता ५१ विधामा प्रतिस्पर्धा गरिरहेका छन्।