भोटेकोशी बाढी: नेपाली सेनाद्वारा खोज तथा उद्धारका लागि हेलिकप्टरसहितको सैन्य टोली परिचालन

काठमाडौँ, १० भदौ । भोटेकोशी नदीमा आज बिहान आएको बाढीबाट प्रभावितहरूको खोज, उद्धार तथा विपद् व्यवस्थापनका लागि नेपाली सेनाको टोली परिचालन भएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भोटेकोशी नदीको बाढीले टिमुरे, स्याफ्रुबेँसी लगायतका तटीय क्षेत्रमा क्षति पुर्‍याएको जानकारी प्राप्त हुनासाथ सेनाको टोली तीव्र रूपमा परिचालन गरिएको हो।

प्रभावितहरूको तत्काल हवाई उद्धारका लागि नेपाली सेनाका दुईवटा हेलिकप्टर नुवाकोटको त्रिशूली बजारमा अवतरण भएका छन्। यस्तै, घाइतेहरूको आकस्मिक उपचारका लागि त्रिशूली जिल्ला अस्पतालमा विशेष मेडिकल टोलीसमेत पठाइएको छ।

यसैगरी, रसुवाको धुन्चे र नुवाकोटको त्रिशूली ब्यारेकबाट स्थलगत उद्धार टोलीहरू प्रभावित क्षेत्रमा परिचालन भएका छन्। धादिङको गजुरीस्थित ६ नम्बर बाहिनी अड्डाबाट विपद् व्यवस्थापनका लागि विशेष तालिमप्राप्त दक्ष सैन्य जनशक्ति पनि उद्धार कार्यमा खटाइएको सेनाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *