पृथ्वी राजमार्गको कृष्णभीरमा सडक पूर्ण रूपमा भासियो : यातायात ठप्प, प्राविधिक अध्ययन सुरु

धादिङ, १४ भदौ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–काठमाडौँ सडकखण्डमा पर्ने धादिङको कृष्णभीरमा सडकको ठुलो हिस्सा भासिएर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । लामो समयदेखि पहिरोको जोखिममा रहेको यो क्षेत्रमा सडक नै ध्वस्त भएपछि राजधानी जोड्ने मुख्य यातायात मार्ग अवरुद्ध बनेको हो ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढी र त्यसपछिको त्रिशूली नदीको तीव्र कटानका कारण कृष्णभीरमा सडक भासिएको हो । बाढीले सडकको तल्लो भाग (जग) नै काटेपछि माथिल्लो कालोपत्रे सडकको ठुलो खण्ड त्रिशूली नदीमा खसेको छ ।

सडक पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सडक विभागले यसको पुनःनिर्माणका लागि प्राविधिक अध्ययन प्रक्रिया अगाडि बढाएको छ । विभागको प्राविधिक टोलीले भासिएको स्थानको भौगोलिक अवस्था र कटानको प्रकृतिको विस्तृत अध्ययन सुरु गरेको जनाएको छ । “अध्ययनबाट प्राप्त हुने निष्कर्ष र माटोको अवस्था हेरेर मात्र पुनःनिर्माण तथा मर्मतको ढाँचा तय गरिनेछ,” विभागले उल्लेख गरेको छ ।

राजमार्गको यो खण्ड ध्वस्त भएपछि मुग्लिङ–काठमाडौँ सडकमा सवारी साधनहरूको आवतजावत नराम्ररी प्रभावित भएको छ । देशकै प्रमुख ‘लाइफलाइन’ मानिने यस राजमार्गमा सडक भासिएपछि यात्रुहरूले ठुलो सास्ती खेप्नुपरेको छ । सडक विभागले सम्भव भएसम्म चाँडो वैकल्पिक व्यवस्था वा मर्मत गरी सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ ।