बाढीमा घाइते दम्पत्तिको काठमाडौँ महानगरद्वारा उद्धार : उपचारपछि मानव सेवा आश्रममा आश्रय

काठमाडौँ,  भदौ १५ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण घाइते भएका एक मजदुर दम्पत्तिलाई काठमाडौँ महानगरपालिकाले उद्धार र उपचारपश्चात् मानव सेवा आश्रममा व्यवस्थापन गरेको छ। रसुवाको सीमा भन्सार क्षेत्रमा मजदुरी गर्दै आएका बाँके कोहलपुरका ४३ वर्षीया महिला र ५० वर्षीय पुरुषलाई आज महानगरको समन्वयमा आश्रम लगिएको हो ।

गत भदौ ११ र १२ गते घाइते अवस्थामा अस्पताल भर्ना गरिएका उनीहरू बाढीबाट जोगिन खोज्दा हाम फाल्ने क्रममा चोटपटक लागेर घाइते भएका थिए । चिकित्सकहरूका अनुसार उनीहरूलाई बाहिरी चोट लागे पनि कुनै भित्री गम्भीर समस्या देखिएको थिएन । आज बिहान अस्पतालबाट डिस्चार्ज भएपछि घर फर्किने आर्थिक अवस्था नभएको र स्वास्थ्यमा थप सुधारका लागि आरामको आवश्यकता रहेकाले उनीहरूलाई एम्बुलेन्स मार्फत आश्रम पुर्‍याइएको हो ।

विशेष गरी श्रीमतीलाई पेटको समस्याका कारण केही दिन विशेष स्याहार र औषधोपचारको आवश्यकता देखिएको छ। बेसहारा, अशक्त, र अभिभावकविहीन नागरिकहरूको संरक्षणका लागि काठमाडौँ महानगरपालिकाले मानव सेवा आश्रमलाई सहयोग उपलब्ध गराउँदै आएको छ ।

महानगरपालिकाले सडक आश्रित र असहाय व्यक्तिहरूको मानवोचित व्यवस्थापन, पालनपोषण र स्वास्थ्य उपचारका लागि आश्रमसँग सहकार्य गर्दै विपदको समयमा समस्यामा परेकाहरूलाई प्राथमिकताका साथ सेवा प्रदान गर्दै आएको छ ।