पृथ्वी राजमार्ग अवरुद्ध : मकवानपुर-काठमाडौँ आवतजावतका लागि वैकल्पिक मार्ग तोकियो

काठमाडौँ, भदौ १४ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीसाधनको चाप अत्यधिक बढेको छ । सवारी चापलाई व्यवस्थित गर्न र सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले सवारीसाधनको प्रकृतिअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार मालवाहक सवारीसाधनहरूलाई कान्ति लोकपथ प्रयोग गर्न निर्देशन दिइएको छ । त्यसैगरी, १४ सिटभन्दा ठूला यात्रुवाहक सवारीसाधनहरूलाई त्रिभुवन राजपथ (पुरानो बाटो) हुँदै आवतजावत गर्न आग्रह गरिएको छ ।

कार्यालयका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार १४ सिटसम्मका साना यात्रुवाहक सवारीसाधनहरूले भने भीमफेदी-देउराली सडक खण्ड प्रयोग गर्न सक्नेछन् ।

सडकमा सवारीको चाप बढेसँगै प्रशासनले नागरिकहरूलाई अत्यावश्यक कामबाहेक काठमाडौँको यात्रा नगर्न र जरुरी अवस्थामा बाहेक निजी सवारीसाधन प्रयोग नगर्न समेत अपिल गरेको छ। यात्राका क्रममा जथाभावी ‘ओभरटेक’ नगर्न, धैर्यता अपनाउन र ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्न प्रशासनले सबैमा आग्रह गरेको छ ।