म्याग्दीको पूर्णगाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना : स्थानीयलाई घरदैलोमै स्वास्थ्य सेवा

काठमाडौँ, भदौ १५ । म्याग्दीको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भई सञ्चालनमा आएको छ । वडास्तरीय स्वास्थ्य संस्थासम्म पुग्न भौगोलिक कठिनाइ भोग्दै आएका स्थानीय बासिन्दालाई लक्षित गरी गाउँपालिकाले गाउँमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन यो एकाइ सञ्चालन गरेको हो ।

हाल स्थानीय राष्ट्रिय जनजागृति माध्यमिक विद्यालयको भवनबाट सेवा प्रारम्भ गरिएको यस एकाइमा गाउँपालिकाले एक जना अनमी (स्वास्थ्यकर्मी) खटाएको छ । यस एकाइबाट पूर्णगाउँका करिब दुई सय घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका मङ्गला गाउँपालिका १ का वडाध्यक्ष सतप्रसाद रोकाले जानकारी दिनुभयो ।

वडाध्यक्ष रोकाका अनुसार, यसअघि पूर्णगाउँका बासिन्दालाई सामान्य स्वास्थ्य सेवाका लागिसमेत कुहुँस्थित स्वास्थ्यचौकी पुग्नुपर्ने बाध्यता थियो । कुहुँ पुग्न आउन दुईदेखि तीन घण्टा समय लाग्ने गरेकोमा अब गाउँमै स्वास्थ्य परीक्षण, परामर्श, निःशुल्क औषधि वितरण र खोपसम्बन्धी सेवाहरू सहजै उपलब्ध हुनेछन् ।

मङ्गला गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने नीतिअनुरूप यसअघि बुकेनी, हिदी, धारा र कुकुरबिसौनामा पनि सामुदायिक स्वास्थ्य एकाइहरू सञ्चालनमा ल्याइसकेको छ । गाउँपालिकाका कुहुँ, रणवाङ, अर्मन (हाँडेभिर) र बरङ्जामा भने पूर्ण स्वास्थ्यचौकीहरू सञ्चालित छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनिष गौचनले स्वास्थ्य एकाइ सञ्चालनमा आएसँगै स्थानीयवासीको वर्षौंदेखिको माग र सपना पूरा भएको बताउनुभयो । उहाँले एकाइको आफ्नै पूर्वाधार निर्माण नहुँदासम्मका लागि विद्यालयले एउटा कोठा उपलब्ध गराएको जानकारी दिनुभयो ।

स्वास्थ्य एकाइको स्थायी भवन निर्माणका लागि विसं २०७९ पुसमा आयोजित महायज्ञमार्फत जग्गा र नगद सङ्कलन गरिएको थियो । यद्यपि, एकाइको नाममा जग्गाधनी पुर्जा बनाउन स्थायी लेखा नम्बर आवश्यक पर्ने र सो कार्य एकाइ स्थापना नहुँदा रोकिएको थियो । अब एकाइको विधिवत् स्थापनासँगै जग्गा प्राप्ति र भवन निर्माणको कानुनी प्रक्रिया अघि बढाउन बाटो खुलेको विद्यालयका प्रधानाध्यापक टेकबहादुर राम्जालीले बताउनुभयो ।

गाउँमै स्वास्थ्य सेवा पुगेपछि उपचार र परामर्शका लागि लामो समय हिँड्नुपर्ने झन्झटबाट मुक्त भएकोमा स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन् ।