पोखराको फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु : दुई घाइते

काठमाडौँ, भदौ १९ । पोखरा महानगरपालिका १८ स्थित गैरीचौतारामा आज बिहान भएको सवारी दुर्घटनामा दुई भारतीय नागरिकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको बिआर ०५ बिबी ६७५९ नम्बरको भारतीय कार अनियन्त्रित भई बिहान ४:५० बजे फेवातालमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपकप्रसाद रिजालका अनुसार दुर्घटनामा भारतको विहार प्रदेश, पूर्वी चम्पारण जिल्ला रक्सोल निवासी २६ वर्षीय नवदीपकुमार यादव र पहिचान नखुलेका अर्का एक भारतीय पुरुषको मृत्यु भएको हो। सुरक्षाकर्मीको टोलीले उनीहरूलाई तालबाट अचेत अवस्थामा उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पुर्‍याएको थियो, जहाँ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरे ।

दुर्घटनामा घाइते भएका भारतकै रक्सोल निवासी २७ वर्षीय अनमोलकुमार यादव र ३३ वर्षीय सुरज यादवको हाल गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको नेतृत्वमा १५ जना र सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ हेक्वाटर कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको नेतृत्वमा १३ जनाको टोली उद्धारमा खटिएको थियो । दुर्घटनाग्रस्त कारलाई क्रेनको सहायताले तालबाट बाहिर निकालिएको छ भने घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।