कृष्णभीरमा सडक भासिएपछि लमजुङ-काठमाडौँ यात्रा कष्टकर, समय र भाडा दुवै दोब्बर

काठमाडौँ, भदौ २३ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ काठमाडौँ सडक सम्पर्क प्रभावित भएको छ । नियमित मार्ग अवरुद्ध भएसँगै बेँसीसहरबाट काठमाडौँका लागि छुट्ने सवारीसाधनहरू वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य छन्, जसका कारण यात्रुहरूले समय र खर्च दुवैमा भारी वृद्धि खेप्नुपरेको छ ।

गत भदौ १४ गते कृष्णभीरमा सडक भासिएपछि हाल बेँसीसहरबाट काठमाडौँ जाने माइक्रोबस तथा ठूला बसहरू चितवन, हेटौँडा हुँदै दक्षिणकालीको वैकल्पिक मार्गबाट सञ्चालन भइरहेका छन् । सामान्य अवस्थामा ५ देखि ६ घण्टामा पूरा हुने यात्रा अहिले १२ देखि १३ घण्टासम्म लम्बिएको छ ।

सवारी चापमा गिरावट र भाडामा वृद्धि
लामो र घुमाउरो बाटोका कारण सवारीसाधन र यात्रुको सङ्ख्यामा उल्लेख्य गिरावट आएको छ । बेँसीसहर माइक्रो काउन्टरका अनुसार यसअघि दैनिक ४० देखि ५० वटा माइक्रोबस काठमाडौँ जाने गरेकामा अहिले यो सङ्ख्या घटेर ५ देखि ७ मा खुम्चिएको छ ।

यात्रा अवधि बढेसँगै भाडादरमा पनि भारी वृद्धि गरिएको छ । यसअघि डिजेल माइक्रोबसको भाडा ९०० र विद्युतीयको ७०० रहेकामा अहिले क्रमशः दुई हजार र १५०० रुपैयाँ पुगेको छ । यस्तै, ठूला बसको भाडा पनि साविकको भन्दा दोब्बरले बढेको छ । काउन्टरका अनुसार हाल दैनिक एउटा मात्र ठूलो बस बेँसीसहरबाट काठमाडौँका लागि छुट्ने गरेको छ ।

बिरामीलाई झन् सास्ती
सडक अवरोधको प्रत्यक्ष असर उपचारका लागि राजधानी ‘रेफर’ गरिने बिरामीहरूमा परेको छ । लमजुङ अस्पतालका सूचना अधिकारी अनिल रेग्मीका अनुसार एम्बुलेन्समार्फत काठमाडौँ लैजानुपर्ने बिरामीहरूलाई घुमाउरो बाटोका कारण समयमा अस्पताल पुर्‍याउन कठिन भएको छ । केही गम्भीर बिरामीलाई पोखरासम्म एम्बुलेन्समा पुर्‍याएर त्यहाँबाट हेलिकप्टरमार्फत काठमाडौँ पठाउनुपर्ने बाध्यता रहेको उनले बताए । यसले बिरामीको उपचार खर्च र मानसिक तनाव दुवै बढाएको छ ।

यात्रुको गुनासो
वैकल्पिक मार्गको यात्रा झन्झटिलो र जोखिमपूर्ण रहेको यात्रुहरूको अनुभव छ । हालै काठमाडौँबाट बेँसीसहर फर्किएकी प्रकृति श्रेष्ठका अनुसार बाटो लामो हुनुका साथै वर्षाले चिप्लो र पहिरोको जोखिम रहेकाले यात्रा डरलाग्दो बनेको छ । साविकको भन्दा दोब्बरभन्दा बढी भाडा तिर्नुपर्दा सर्वसाधारणको आर्थिक व्ययभार समेत बढेको छ ।

कृष्णभीरको सडक मर्मत भई नियमित यातायात सञ्चालनमा नआएसम्म लमजुङबासीले अझै केही समय सास्ती खेप्नुपर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *