‘जेन्जी आन्दोलन’ लाई भड्काउने योजनाकारमाथि कारबाही होस् : एमाले महासचिव पोखरेल
काठमाडौँ, २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले गत वर्ष भएको ‘जेन्जी आन्दोलन’ का क्रममा घटेका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी घुसपैठ गर्ने र गराउने योजनाकारलाई कानुनी कारबाही गर्न माग गर्नुभएको छ । आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा मङ्गलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उहाँले शान्तिपूर्ण प्रदर्शनलाई नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउने षड्यन्त्र भएको दाबी गर्नुभएको हो ।
महासचिव पोखरेलले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते र सन्तान गुमाएका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
पोखरेलले जेन्जी आन्दोलनका क्रममा युवाहरूले अगाडि सारेका भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, सेवा प्रवाहमा सहजता र सामाजिक सञ्जालको निर्वाध प्रयोग गर्न पाउनुपर्ने मागहरू अत्यन्तै जायज रहेको उल्लेख गर्नुभएको छ । “यी मागहरू हामी सबैको साझा सरोकारका विषय हुन्,” उहाँले भन्नुभएको छ ।
तत्कालीन सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध नलगाएको दाबी गर्दै उहाँले नेपालमा दर्ता हुनुपर्ने नियमनकारी नीतिको विषयमा सरकारले स्पष्ट पार्न नसक्दा नयाँ पुस्ता सडकमा आएको तर्क गर्नुभयो ।
महासचिव पोखरेलले नवयुवाहरूको शान्तिपूर्ण आन्दोलनलाई सुरुदेखि नै हिंसात्मक बनाउन सुनियोजित षड्यन्त्र भएको र त्यो अहिले ‘घामजस्तै छर्लङ्ग’ भइसकेको बताउनुभयो । उहाँले भन्नुभएको छ, “शान्तिपूर्ण प्रदर्शनमा छिरेर झडप निम्त्याउने र घुसपैठ गराउने योजनाकारहरूको पहिचान गरी कारबाहीको दायरामा ल्याउनु नै जेन्जी आन्दोलनको वास्तविक भावनाको सम्मान गर्नु हो ।”
वर्तमान सरकार आन्दोलनको भावनाअनुसार नभई आन्दोलनलाई ‘हाइज्याक’ गर्नेहरूको योजना र प्रभावमा चलेको उहाँको आरोप छ । उहाँले मुलुकमा विधिको शासन स्थापना र युवाको भावनाको कदर गर्नु आजको प्रमुख आवश्यकता रहेकोमा जोड दिनुभयो ।
महासचिव पोखरेलले एमाले सधैँ नवयुवाहरूको पक्षमा रहेको र उनीहरूको जायज माग सम्बोधन गर्न मिलेर अघि बढ्न तयार रहेको बताउनुभयो । “हिजो नवयुवाको भावना र माग सम्बोधनमा केही कमजोरी भएको भए त्यसलाई सुधार गर्दै अघि बढ्न एमाले प्रतिबद्ध छ,” उहाँले उल्लेख गर्नुभएको छ ।
गत वर्ष भदौ २३ गते संसद् भवन प्रवेश गर्ने क्रममा भएको झडपमा परी केही युवाले ज्यान गुमाएका थिए भने दर्जनौँ घाइते भएका थिए । सोही घटनाको सम्झनामा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।