भोटेकोशी बाढी : ३८ घाइते उपचारपछि डिस्चार्ज, ट्रमा सेन्टरमा १२ जनाको उपचार जारी

काठमाडौँ, २१ भदौ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण बाढीमा परी घाइते भएकामध्ये ३८ जना राष्ट्रिय ट्रमा सेन्टरबाट डिस्चार्ज भएका छन् । उद्धार गरी काठमाडौँ ल्याइएका कुल ५८ जना घाइतेमध्ये ५० जनालाई उपचारका लागि यसै सेन्टरमा भर्ना गरिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार उपचारका क्रममा स्वास्थ्यमा सुधार आएपछि उनीहरूलाई घर पठाइएको हो । हाल ट्रमा सेन्टरमा १२ जना घाइतेको उपचार भइरहेको छ । अस्पताल प्रशासनका अनुसार उपचाररत अधिकांशको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूलाई साधारण शय्यामा राखेर उपचार भइरहेको छ ।

बाढीमा परी घाइते भएका र बेपत्ता भएका व्यक्तिका आफन्तलाई सहज रूपमा सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरेको छ । सहायता कक्षमार्फत घाइतेको अवस्थाबारे जानकारी दिने र सम्पर्कविहीन आफन्तको विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ । अस्पताल पुगेका आफन्तहरूले आफ्ना परिवारका सदस्यको उपचार र अवस्थाबारे यहाँबाट जानकारी लिइरहेका छन् ।

भोटेकोशी बाढीले ठुलो जनधनको क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई अझै निरन्तरता दिइरहेका छन् । उद्धार गरिएका घाइतेहरूको उपचारसँगै बेपत्ताहरूको खोजी र विस्थापित परिवारलाई राहत तथा पुनःस्थापना गराउने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रहरीले जनाएको छ ।

बाढी र पहिरोका कारण सडक सञ्जाल विच्छेद भएका स्थानहरूमा हेलिकप्टरमार्फत उद्धार र राहत सामग्री ढुवानी गर्ने काम समेत भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *