कृष्णभीरको नयाँ ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तभित्र सवारी सञ्चालन गरिने
चितवन, २१ भदौ । पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक व्यवस्था स्वरूप खोलिएको नयाँ ‘ट्र्याक’ लाई फराकिलो बनाउन थालिएको छ । सडक पुनः सञ्चालनका लागि निर्माण सामग्री र भारी उपकरणहरू कार्यस्थलसम्म लैजान पहाडको माथिल्लो भागमा यो ट्र्याक खोलिएको हो ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का इन्जिनियर सचेन्द्र मिश्रका अनुसार डाँडामाथिबाट दुवैतर्फ करिब चार मिटर चौडाइको ट्र्याक तयार पारिएको छ । मुख्य सडकबाट करिब २० मिटर उचाइमा रहेको यो मार्ग ३५० मिटर लामो छ । “हिजो खुलेको ट्र्याकलाई अहिले फराकिलो बनाउने र निर्माण सामग्री ओसारपसारका लागि सहज बनाउने काम भइरहेको छ,” इन्जिनियर मिश्रले भन्नुभयो ।
आयोजनाले आगामी भदौ मसान्तभित्र सर्वसाधारणका सवारी साधन गुड्न सक्ने गरी कामलाई तीव्रता दिएको छ । यद्यपि, अहिले खोलिएको ट्र्याक केवल निर्माण प्रयोजन, इन्धन ढुवानी र कामदार आवतजावतका लागि मात्र प्रयोग भइरहेको छ । निर्माण कम्पनी शर्मा–जेडआईभी जेभीका साइट प्रबन्धक इन्जिनियर ईश्वर नेपालले अहिले नै सर्वसाधारणका लागि सडक नखुलेको प्रष्ट पार्नुभयो ।
“अब भित्ता काट्ने, स्लोप व्यवस्थापन गर्ने र सडकको लेभल मिलाउने जस्ता प्राविधिक कामहरू धमाधम हुनेछन्,” इन्जिनियर नेपालले भन्नुभयो, “अहिलेको अवस्थामा आपत्कालीन रूपमा पैदल यात्रीहरू भने हिँडेर वारपार गर्न सक्ने भएका छन् ।”
निर्माण कार्यलाई छिटो सम्पन्न गर्न आजदेखि थप उपकरणहरू परिचालन गरिएको छ । हाल कार्यस्थलमा ७ वटा एक्साभेटर, एउटा जेसिबी, लोडर र दुईवटा बुल्डोजर प्रयोग भइरहेका छन् । आवश्यकताअनुसार थप मेसिनहरू मगाइने आयोजनाले जनाएको छ ।
डिजाइनअनुसार सडक निर्माणका लागि आवश्यक जनशक्ति र प्राविधिक सामग्रीको अभाव नरहेको र मौसमले साथ दिएमा तोकिएकै समयमा राजमार्ग पुनः सुचारु हुने विश्वास प्राविधिक टोलीले व्यक्त गरेको छ ।