प्रचुर सम्भावना भए पनि कोशी टप्पुमा विदेशी पर्यटक न्यून : ८ वर्षमा ९० हजारमध्ये २ हजार मात्रै विदेशी

सुनसरी, २३ भदौ । अर्ना, दुर्लभ चराचुरुङ्गी र सिमसार क्षेत्रका लागि विश्वप्रसिद्ध कोशी टप्पु वन्यजन्तु आरक्षमा विदेशी पर्यटकको आगमन निकै न्यून देखिएको छ । पर्यटकीय प्रचुर सम्भावना भए पनि प्रचारप्रसार र आवश्यक पूर्वाधारको अभावमा विदेशी पर्यटकको सङ्ख्यामा सुधार हुन नसकेको हो ।

आरक्षको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ देखि २०८२/८३ सम्मको ८ वर्षमा कुल ९० हजार २८३ पर्यटकले आरक्षको भ्रमण गरेका छन् । तर, तीमध्ये विदेशी पर्यटकको सङ्ख्या जम्मा २ हजार २९ मात्र रहेको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षका सहायक वार्डेन तथा सूचना अधिकारी मिथलेस महतोका अनुसार पछिल्ला वर्षहरूमा पनि विदेशी पर्यटकको सङ्ख्या उत्साहजनक छैन :
आव २०८२/८३: १२ हजार ८८३ पर्यटकमध्ये ३०५ जना विदेशी ।
आव २०८१/८२: ११ हजार ६०६ पर्यटकमध्ये ३०२ जना विदेशी ।
आव २०८०/८१: १२ हजार ५५६ पर्यटकमध्ये ३२७ जना विदेशी ।

सूचना अधिकारी महतोका अनुसार देशका अन्य राष्ट्रिय निकुञ्जको तुलनामा यहाँ विदेशीको आकर्षण कम हुनुमा मुख्य रूपमा प्रचारप्रसार र पर्यटन पूर्वाधारको कमी नै हो । “कोशी टप्पुलाई ‘बर्ड वाचिङ’ र सिमसार पर्यटनको प्रमुख गन्तव्य बनाउन सकिन्छ, तर सोही अनुसारका संरचनाहरू बन्न सकेका छैनन्,” उहाँले भन्नुभयो ।

पर्यटन व्यवसायी रमन भट्टराईका अनुसार आरक्षभित्र जङ्गल सफारी र पदयात्राका लागि उपयुक्त सडक तथा मार्गहरूको अभाव छ । “हामीले व्यक्तिगत लगानीमा सफारी त सुरु गरेका छौँ, तर आरक्षभित्र पुग्ने सडक पूर्वाधार छैन,” उहाँले भन्नुभयो, “व्यवस्थित पदयात्रा मार्ग, सूचना केन्द्र र होमस्टे सञ्चालन गर्न सके विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ ।”

वि.सं. २०३२ मा स्थापना भएको यो आरक्ष सुनसरी, सप्तरी र उदयपुरको १७३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । सन् १९८७ देखि रामसार सूचीमा सूचीकृत यो क्षेत्र जैविक विविधताका दृष्टिले निकै महत्त्वपूर्ण मानिन्छ ।

यहाँको मुख्य आकर्षण जङ्गली भैँसी हो । सन् १९७६ मा ६३ वटा मात्र रहेका अर्नाको सङ्ख्या २०२१ को गणना अनुसार ४९८ पुगेको छ । आरक्षमा ५३५ प्रजातिका चरा, ४२ प्रजातिका स्तनधारी, १४१ प्रजातिका माछा र १९ वटा डल्फिन पाइन्छन् । विशेष गरी हिउँदमा साइबेरिया लगायतका क्षेत्रबाट आउने पाहुना चराहरूले यस क्षेत्रको रौनकता बढाउने गर्दछ । यद्यपि, यी प्राकृतिक सम्पदाहरूलाई विश्व बजारमा चिनाउन सरकारी र निजी क्षेत्रको थप पहल आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *