राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथमा पूजाआराधना
काठमाडौँ, २३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक र आम नागरिकको हित एवं समृद्धिको कामना गर्दै आराध्यदेव पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्नुभएको छ ।
मङ्गलबार बिहान प्रथम महिला सविता पौडेलसहित पशुपतिनाथ मन्दिर पुग्नुभएका राष्ट्रपति पौडेलले देशमा सुख, शान्ति र जनहितको सङ्कल्पसहित विशेष पूजाआजा गर्नुभएको हो । राष्ट्रपतिको सचिवालयका अनुसार सो अवसरमा उहाँले मन्दिरका पुजारीबाट विधिपूर्वक फूलप्रसाद समेत ग्रहण गर्नुभएको थियो ।
बाढी र पहिरोका कारण मुलुकले ठुलो जनधनको क्षति व्यहोरेको र राष्ट्रिय शोक मनाइरहेको सन्दर्भमा राष्ट्रपतिको यस धार्मिक अनुष्ठानलाई शान्ति र राष्ट्रिय हितको कामनाका रूपमा लिइएको छ ।
