जेन्जीकाे मागहरू पूरा नभएको र घाइतेहरूको व्यवस्थापनमा सरकारले उदासीनता देखाएको भन्दै माइतीघरमा आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै
काठमाडौँ, २३ भदौ । राजधानीको माइतीघर मण्डलामा आत्मदाहको प्रयास गरेकी एक महिलालाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको छ। जेन-जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा सहभागी लक्ष्मीदेवी बस्नेतले आफ्नै शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेकी हुन्।
मंगलबार साँझ आयोजित कार्यक्रमका क्रममा बस्नेतले शरीरमा आगो लगाउने बित्तिकै त्यहाँ तैनाथ प्रहरी टोलीले नियन्त्रणमा लिएर उनलाई तत्कालै अस्पताल पुर्याएको थियो। प्रहरीका अनुसार उनको हाल वीर अस्पतालमा उपचार भइरहेको छ।
जेन-जी आन्दोलनको वर्षगाँठ मनाइरहेका प्रदर्शनकारीहरूले सरकारसँग आफ्ना मागहरू पूरा नभएको र घाइतेहरूको व्यवस्थापनमा उदासीनता देखाएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन्। सोही कार्यक्रम हुँदै गर्दा याे घटना घटेको हो।
यसैबीच, जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वर्तमान सरकारलाई केही समय पर्खने र सुधार नभए ‘थर्ड पोल’ को तयारीमा लाग्ने चेतावनी दिएका छन्। आन्दोलनकारीहरूले सुशासनको वाचा पूरा नभएको भन्दै गृहमन्त्रीको दाबीप्रति समेत असहमति जनाउँदै आएका छन्।