भोटेकोशी बाढी अपडेट : १३ हजार ३९६ को उद्धार, ५ हजारभन्दा बढी अझै बेपत्ता
काठमाडौँ, भदौ २३ । रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि सञ्चालित खोज तथा उद्धार अभियानका क्रममा हालसम्म १३ हजार ३९६ जनाको सफल उद्धार गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई तीव्रता दिइरहेको जानकारी दिएको छ ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उद्धार गरिएकामध्ये ३ हजार ५३३ जनालाई रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा सुरक्षित रूपमा राखिएको छ । बाढीका कारण हालसम्म १ हजार ३५७ जनाको मृत्यु भएको पुष्टि भएको छ । फेला परेका शवहरूमध्ये ९८ जनाको सनाखत भई आफन्तलाई बुझाइसकिएको र बाँकीको सनाखत प्रक्रिया जारी रहेको प्रवक्ता महतले बताउनुभयो ।
प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार अझै ५ हजार ३२६ जना सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा सबैभन्दा बढी रसुवाका २ हजार ८६० जना र नुवाकोटका १ हजार ९८१ जना रहेका छन् । सम्पर्कविहीन हुनेहरूमा स्थानीय नागरिकका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विभिन्न सरकारी निकायका कर्मचारीहरू समेत रहेका छन् ।
स्वास्थ्य सेवातर्फ बाढी प्रभावित तथा घाइते गरी ६ हजार ८२७ जनाले प्राथमिक उपचार सेवा लिएका छन् । विभिन्न १० वटा अस्पतालमा उपचाररत ३२७ जनामध्ये २४२ जना निको भएर घर फर्किसकेका छन्। घाइतेहरूको उपचारमा नेपाली सेनाले ३ हजार ४०४ र सशस्त्र प्रहरीले ३ हजार ९६ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराएको प्राधिकरणले जनाएको छ ।
बाढीले पुर्याएको ठूलो मानवीय र भौतिक क्षतिका कारण विस्थापित भएकाहरूलाई सुरक्षित आश्रयस्थलमा राख्नुका साथै खाद्यान्न, नुन तेल र औषधि जस्ता आधारभूत आवश्यकताको व्यवस्थापनमा राज्यका विभिन्न निकायहरू सक्रिय छन् ।
हाल नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय तहहरूले खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन समन्वयात्मक रूपमा काम गरिरहेका छन् । सम्पर्कविहीन नागरिकहरूको खोजी कार्यलाई उच्च प्राथमिकतामा राखी सुरक्षा निकायहरू परिचालित भइरहेको प्राधिकरणले उल्लेख गरेको छ ।