मध्यअफ्रिकी गणतन्त्रमा नेपाली शान्ति सैनिकको अदलीबदली: ७१ सैनिक प्रस्थान, ७५ फिर्ता
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्यअफ्रिकी गणतन्त्रमा शान्ति स्थापनाका लागि तैनाथ नेपाली शान्ति सैनिकहरूको नयाँ टोली प्रस्थान गरेको छ।
‘मिनुस्का’ (MINUSCA) मिसनमा कार्यरत सैनिक प्रहरी युनिटको ११औँ डफ्फालाई बदली गर्नका लागि १२औँ डफ्फाका ७१ जना शान्ति सैनिकहरू आज मिसन इलाकातर्फ प्रस्थान गरेका हुन्। प्रमुख सेनानी रवीन श्रेष्ठको नेतृत्वमा गएको यो टोलीले मध्यअफ्रिकी गणतन्त्रमा शान्ति सुरक्षाको जिम्मेवारी सम्हाल्नेछ।
त्यसैगरी, उक्त मिसनमा आफ्नो सफल कार्यकाल पूरा गरी ७५ जना नेपाली शान्ति सैनिकहरू आजै स्वदेश फिर्ता भएका छन्। प्रमुख सेनानी सुमन थापाको नेतृत्वमा फर्किएको सो टोली आजै काठमाडौँ आइपुगेको हो।
नेपाली सेनाले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा संयुक्त राष्ट्रसङ्घको झण्डामुनि रहेर लामो समयदेखि शान्ति स्थापनामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।