विनाशकारी बाढीका कारण बेपत्ता मध्ये १ हजार ३८६ जनाको शव फेला
काठमाडौं, २८ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ८ बजेसम्म १ हजार ३८६ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १८५, नुवाकोटमा १९९, धादिङमा ७१, चितवनमा ३६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३० र नवलपरासी पश्चिममा २२२ छन्।
फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलन तथा आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २३० शव व्यवस्थापन गरिएको छ।
शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ८४६ गरी कुल ३ हजार १३२ वटा डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ। पहिचान हुन नसकेका १ हजार ३५४ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कामका लागि हालसम्म ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ। यस्तै, बाढीका कारण ४ हजार ८९ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल २ हजार ७१२ जना राखिएका छन्। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत र बेपत्ताको खोजी कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।