जबरजस्ती करणी मुद्दाका कैदी जेन–जी आन्दोलनमा भागे, नक्कली सुन देखाएर ठग्दा फेरि पक्राउ
काठमाडौं, २८ भदौ । जेन–जी आन्दोलनको फाइदा उठाउँदै जेलबाट भाग्ने अधिकांशले थप अपराधिक घटना घटाएका दुखद् समाचारहरु एकपछि अर्को गर्दै बाहिर आउने गरेका छन् । त्यसरी जेलबाट भाग्नेहरुले हत्या, हिंसा, बलात्कार जस्ता घटनामा आफूलाई संलग्न गराएको भेटिएको छ । तर, राज्य भने यस्ता कुरामा बेखबर जस्तै बनेको छ ।
जे–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका कैदी पछिल्लो समय नक्कली सुन देखाएर रकम ठगी गर्ने क्रममा पक्राउ परेका छन् ।
ओखलढुङ्गा, सिद्धीचरण नगरपालिका–१ घर भई काठमाडौं, नयाँ बसपार्क बस्ने २८ वर्षीय अनिष थापा पक्राउ परेका हुन् । उनलाई टोखा ९, मिलनटोलस्थित एक गेष्ट हाउसबाट प्रहरी पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ ।
उनले विभिन्न व्यक्तिलाई नक्कली सुन देखाएर पटक–पटक गरी १ करोड ३९ लाख ३० हजार रूपैयाँ ठगेको प्रहरीको भनाइ छ । उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको छ । उनी जबरजस्ती करणी मुद्दामा कैद रहेकै अवस्थामा गत वर्ष भदौ २४ गते नख्खु कारागारबाट भागेका थिए ।