प्रधानमन्त्री साहको भनाइ र गराइबीच तालमेल नमिलेको एमाले सचिव भट्टराईको आरोप
काठमाडौँ, ८ मंसिर । नेकपा (एमाले) का सचिव डा. राजन भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा भनिएजस्तो नीतिगत परिवर्तन (डिपार्चर) देखिन नसकेको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री शाहको दुई दिने भारत भ्रमण विगतकै निरन्तरतामा सीमित भएको उहाको बुझाई छ ।
भारत भ्रमणका क्रममा भएका द्विपक्षीय सम्झौता र समझदारीबारे प्रतिक्रिया दिँदै भट्टराईले विगतमा सुरु भएका आयोजनाको शिलान्यास तथा सम्पन्न आयोजनाको उद्घाटनलाई नै भ्रमणको मुख्य उपलब्धिका रूपमा प्रस्तुत गरिएको बताउनुभयो ।
भ्रमणका क्रममा भारतले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा विकासका लागि दुई खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको सहयोग घोषणा गर्नु सकारात्मक पक्ष भए पनि आर्थिक समस्या रहेको वर्तमान अवस्थामा उक्त सहयोग ऋण हो वा अनुदान भन्ने स्पष्ट नभएको उहाँको भनाइ छ। केही बाहेक भ्रमणका अधिकांश विषय विगतकै निरन्तरता भएको उहाँको टिप्पणी गर्नुभयो ।
भट्टराईले प्रधानमन्त्री साहको भनाइ र गराइबीच पनि तालमेल नमिलेको आरोप लगाउनुभयो । ‘विगतको भारी बोक्दिनँ भन्ने तर विगतमै अगाडि बढेका सबै आयोजनाहरू उद्घाटन गर्ने कार्यले प्रधानमन्त्रीको भनाइ र गराइबीच तालमेल नमिलेको देखिन्छ,’ उहाँले भन्नुभयो । झन्डै दुई तिहाइको जनादेशसहित भारत भ्रमणमा गएका प्रधानमन्त्रीले नेपालका दीर्घकालीन र महत्त्वपूर्ण मुद्दाहरूलाई प्राथमिकतामा राख्न नसकेको उहाँको आरोप छ ।
