नेतृत्वको आलोचना मात्र गरेर पार्टीलाई एकताबद्ध बनाउन सकिन्नः विष्णु पौडेल
काठमाडौँ, ६ असोज । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेतृत्वको आलोचना मात्र गरेर पार्टीलाई एकताबद्ध बनाउन नसकिने बताएका छन्। उपाध्यक्ष पौडेलले पार्टीभित्र देखिएका मतभेदलाई संवाद र सहमतिमार्फत समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।
ललितपुरमा जारी एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकको दोस्रो दिन मन्तव्य राख्दै उपाध्यक्ष पौडेलले पार्टीको कार्यदलले निकै मेहनतका साथ प्रतिवेदन तयार गरेको स्मरण गराए। उनले कार्यदल गठनको चरणमै विभिन्न विषयमा मतभेद रहे पनि प्रतिवेदन तयार गर्ने क्रममा धेरै विषयमा सहमति जुटेको बताउनुभयो ।
‘‘कार्यदल गठनमै सुरुमा धेरै विमति थियो, तर प्रतिवेदन तयार गर्ने बेलामा धेरै कुरामा सहमति बन्यो। तर प्रतिवेदन बनेपछि पक्ष–विपक्ष देखियो, त्यो राम्रो होइन,’ उपाध्यक्ष पौडेलले भन्नुभयो ।
बैठकमा पौडेलले पार्टीको वर्तमान अवस्था, जनताको अपेक्षा, नेता–कार्यकर्ताको भावना तथा नेतृत्व विकाससँग सम्बन्धित विषयमा आफ्नो धारणा राख्नुभएको थियो । उहाँले पार्टीलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउन सबै तहका नेता–कार्यकर्ताले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
